पर्साको तिलावे खोलामा बेलिब्रिज निर्माण गर्दै
वीरगंज । सडक विभागले गत वर्षको बाढीले क्षतिग्रस्त भएको गण्डक नहरको एप्रोच सडकस्थित तिलावे नदिमा स्टिल बेलिब्रिज निर्माण गर्न लागेको छ ।
नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगन्जका इन्जिनियर सुरेशप्रसाद साहले सडक विभागले उक्त खोलामा स्टिलको बेलीब्रिज जडान गर्न लागेको जानकारी दिनुभयो । यसका लागि सडक विभागले टेन्डर आह्वान गरी टेन्डर प्रक्रियाले पूर्णतासमेत पाइसकेको छ ।

सडक विभागले पुल निर्माणका लागि मूल्य अभिवृद्धि करसहित ३ करोड ३० लाख रुपैयाँको टेन्डर आह्वान गरेकोमा प्रतिस्पर्धामा ज्वाइन्ट भेन्चरको कम्पनी मेदान्त/महम्मद इस्लामले ३ करोड १७ लाख रुपैयाँमा पुल निर्माणको टेन्डर साकार गरेको छ ।कार्यालयले दिएको प्राविधिक डिजाइन अनुसार नै सडक विभागले बेलिब्रिजको टेन्डर आह्वान गरेको इन्जिनियर साहले बताउनुभयो ।

अब ठेकेदार कम्पनीले बेलिब्रिज जडानको काम गर्ने छ,’ उहाँले भन्नुभयो । त्यसपछि पुलको पूर्वी र पश्चिमी दुवै भागमा नदी नियन्त्रणका लागि तार जाली लगायतका भौतिक संरचना निर्माणको कार्य नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगन्जले गर्ने इन्जिनियर साहले बताउनुभयो । गण्डक नहरस्थित तिलावे नदीको आरसिसी पुल गत वर्ष असार महिनामा आएको भीषण बाढीले क्षतिग्रस्त भएको थियो ।
करिब ७० मिटर लामो यो पुलले वीरगन्ज महानगरपालिका र बहदुरमाई नगरपालिकाको सिमानाको समेत काम गरेको छ । पुल निर्माण ठेक्का प्रक्रियामा गएसँगै स्थानीय बासिन्दामा खुसीयाली छाएको छ ।








प्रतिक्रिया राख्नुहोस्