नेपालगञ्ज–दिल्ली हवाई उडानका लागि सरोकारवालाबीच छलफल

नेपालगञ्ज । नेपालगञ्ज–दिल्ली हवाई उडानका लागि सरोकारवालाबीच नेपालगञ्जमा बृहत् छलफल गरिएको छ।
पश्चिम क्षेत्रको पर्यटन विकासका लागि नेपालगञ्ज–दिल्ली हवाई उडान गर्नुपर्ने सबै सरोकारवालाको धारणा छ ।
संघीय संरचना अघि चलायमान रहेको नेपालगञ्ज शहर अहिले पछाडि परेको भन्दै नेपालगञ्ज लगायत यस क्षेत्रको विकासका लागि नेपालगञ्ज–दिल्ली हवाई उडान गर्नुपर्ने सम्बद्धले बताएका छन् ।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको अगुवाईमा राजनीतिक दल, व्यवसायी, नागरिक समाजका अगुवाले नेपालगञ्ज–दिल्ली हवाई उडानका लागि नेपाल सरकारलाई दबाब दिने तयारी गरेका छन् ।
नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामीले नेपालगञ्ज–दिल्ली हवाई उडान हुन सकेमा मानसरोवरलगायत यस क्षेत्रको पर्यटकीय क्षेत्रमा भारतीयको उपस्थिति बढ्ने र त्यसले यहाँको व्यापार व्यवसायमा टेवा पुग्ने बताउनुभयो । नेपालगञ्ज–दिल्ली उडानका लागि सबै एकाकार भएर लाग्नुपर्नेमा उहाँको जोड छ ।
प्रदेश सांसद कृष्णा केसी र मिना श्रेष्ठ, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, एमालेका केन्द्रीय सदस्य पशुपति दयाल मिश्र, नेपाली काँग्रेसका सचिव सुधांशु कोइराला, एमाले नेता मिन मल्ल, माओवादीका नेता प्रेम शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता राजेन्द्र श्रेष्ठ, नेकपा एकीकृत समाजवादीकी नेतृ करिश्मा योगीलगायतले नेपालगञ्ज–दिल्ली उडानका लागि सबै लाग्नुपर्ने बताउनुभएको थियो ।
नेपालगञ्ज–दिल्ली उडानका लागि यसअघि नै प्रयास गरे पनि त्यसले सार्थकता पाएको छैन । यसैबीच आजकै छलफलबाट यो अभियानमा दबाब बढाउन नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष धामीको नेतृत्वमा दबाब समिति गठन गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्