तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक: आइतबार दिउँसो १:०० बजेसम्मका लागि स्थगित   

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठक सूचना टाँस गरी आइतबार दिउँसो १ बजेका लागि सारिएको छ ।

आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकाले आइतबार दिउसो १ बजे बस्ने गरी समय निर्धारण गरिएको संघीय संसद् सचिवालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

भिजिट भिसा प्रकरणको विषयलाई लिएर सत्तापक्ष र प्रतिपक्षी दलहरू आ–आफ्नै अडानमा रहेका कारण संसद्को जारी अवरोध खुल्न सकेको छैन ।  

सभाको हिजो बसेको बैठकमा पनि दलहरुबीच सहमति नहुँदा कार्यसूचीमा प्रवेश गर्न सकेको थिएन । 

सभाको मङ्गलवार र बुधवारका लागि बोलाइएको बैठक पनि दलहरुबीच सहमति हुन नसकेपछि सूचना टाँस गरी बैठकको समय परिवर्तन गरिएको थियो । 

भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधिसभाको जेठ १३ र १४ गतेको बैठक प्रतिपक्षी दलहरूले अवरोध गरेका थिए । 

प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्ने, भिजिट भिसामा भएका अनियमितता, भ्रष्टाचार र मानव बेचबिखनबारे छानबिन गर्न संसदीय वा न्यायिक छानबिन समिति गठन नगरेसम्म संसद् चल्न नदिने अडान राख्दै आएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button