झापामा बाढीसम्बन्धी घटनाको कृत्रिम अभ्यास
भद्रपुर, झापा । झापा जिल्लाको मनसुन विपद् पूर्वतयारीको लागि बाढीसम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको छ ।
विपद्का घटनामा विशेष गरी बाढीका वेला प्रभावकारी खोज तथा उद्धारका लागि विपद् पूर्वतयारी कृत्रिम घटना अभ्यास गरिएको हो । यस वर्ष औसतभन्दा बढी पानी पर्ने जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेअनुसार बाढी, डुबान तथा कटानले गर्नसक्ने बढ्दो जनधनको क्षतिलाई न्यूनीकरण गर्नका लागि मेचीनगर नगरपालिकाको वडा नं. १३ स्थित निचाझोडा पोखरीमा बुधबार संयुक्त कृत्रिम अभ्यास गरिएको अरिमदन गण चारआलीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा जिल्ला रेडक्रसद्वारा संयुक्तरुपमा स्थानीय स्रोत र साधनको प्रयोगबाट तयार गरिएको इम्प्रोभाइज फ्लोटिङ डिभाइसको प्रयोग गरी बाढी तथा डुबानको समयमा आफू सुरक्षित रही अरूलाई पनि सुरक्षित बनाउने तरिका, रबरको डुङ्गा प्रयोग गरी बाढी तथा डुबानमा परेकाको खोज तथा उद्धार, पानीमुनिबाट उद्धार, पानीमाथि डोरी प्रयोग गरी उद्धार तथा घाइतेलाई प्राथमिक उपचार तथा राहत वितरणको कृत्रिम अभ्यास गरिएको अरिदमन गणका गणपति प्रमुख सेनानी प्राजु बस्न्यातले जानकारी दिनु भयो ।

कार्यक्रममा जिल्ला विपद व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, श्री नं. २१ बाहिनी अड्डाका सहायक बाहिनीपति महासेनानी ब्रजेश महर्जन, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बू , सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हे.क्वा. झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारी , राष्ट्रिय अनुसन्धान कार्यालय झापाका प्रमुख उपसचिव कुलचन्द्र नेपाललगायतको सहभागिता थियो ।
जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले झापा जिल्लाको विभिन्न स्थानमा भारी वर्षाको कारण बाढी, पहिरो, डुबान, कटानजस्ता प्राकृतिक विपद्बाट हुनसक्ने क्षतिलाई मध्यनजर गरी कृत्रिम अभ्यास गरिएको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्