तपाईँ सुन्दै हुनुहुन्छः

‘नेपालको राजसंस्था कहिल्यै पनि संवैधानिक हुन सक्दैन’

नेपालगन्ज । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपालको राजसंस्था कहिल्यै पनि संवैधानिक हुन नसक्ने बताउनुभएको छ । 

नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ को तेस्रो क्षेत्रीय सम्मेलनलाई आज नेपालगन्जमा सम्बोधन गर्नुहुँदै महामन्त्री थापाले नेपालमा राजाहरूको चरित्र कहिल्यै पनि संवैधानिक बन्न नसकेको तीतो इतिहास साक्षी रहेको बताउनुभयो । उहाँले प्रजातन्त्र कि राजतन्त्र भन्ने दुई वटा मात्र विकल्प रहेको बताउँदै नौजवानहरूलाई राजसंस्था इतिहासमा कहिल्यै पनि संवैधानिक बन्न नसकेको बुझाउन जरुरी रहेको उल्लेख गर्नुभयो । 

महामन्त्री थापाले कांग्रेस मुलुकको सबैभन्दा ठूलो जिम्मेवार राष्ट्रिय शक्ति भएको इतिहासले प्रमाणित गरिसकेको उल्लेख गर्दै अहिले देखिएको उकुसमुकुसबाट मुलुकलाई बाहिर निकाल्ने गरी कांग्रेस अघि बढ्न दृढ रहेको बताउनुभयो । थापाले पार्टीभित्र सबै नेता कार्यकर्ताको हैसियत एउटै भएको जिकिर गर्दै जिम्मेवारी र भूमिका मात्रै फरक रहेको बताउनुभयो ।  

महामन्त्री थापाले चुनाव अघि र पछिको दुवै गठबन्धन नेपालमा नचलेको बताउँदै अब संविधान संशोधन गर्दा यो कुरालाई हेक्का राख्न जरुरी रहेको उल्लेख गर्नुभयो । कांग्रेस(एमाले सरकार संविधान संशोधनको मुख्य वाचाका साथ बनेको स्मरण गराउँदै उहाँले त्यो वाचा बिर्सिन नहुनेमा जोड दिनुभयो । 

प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ बाँके तथा प्रदेश सभा क्षेत्रीय कार्यसमिति (क) र (ख) क्षेत्र नम्बर २ बाँकेको आयोजनामा भएको क्षेत्रीय सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु मधु आचार्य र मैकुलाल वाल्मीकि, लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन, बाँकेका सभापति नारायण प्रसाद गौडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

क्षेत्र नम्बर २ का सभापति रमेश कुमार गुप्ताले राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन, प्रदेश सभा (क) का सभापति ज्ञानेन्द्र कुमार चौधरी, (ख) का सचिव रोशन कुमार श्रेष्ठले साङ्गठनिक प्रतिवेदन र प्रदेश सभा क्षेत्र (ख) का कोषाध्यक्ष ललित कुमार रौनियारले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम सञ्चालन क्षेत्रीय सचिव सुनिल सिंह हमालले गर्नुभएको थियो । सम्मेलनको अध्यक्षता क्षेत्रीय सभापति गुप्ताले गर्नुभएको थियो । 

यसैबीच वि।सं। २०७९ को निर्वाचन अघि नेपाली काँग्रेसकै राजनीतिमा सक्रिय नेता द्वय चन्तराम थारु र लक्ष्मण थारु पुनः काँग्रेसमा फर्कनुभएको छ । महामन्त्री थापाले दुवै जनालाई पार्टी प्रवेश गराउनुभएको हो । चन्तराम नागरिक उन्मुक्ति पार्टी बाँकेका अध्यक्ष र लक्ष्मण उपाध्यक्ष हुनुहुन्थ्यो । 

त्यस अवसरमा महामन्त्री थापाले नेपाल स्वास्थ्यकर्मी संघ बाँकेले प्रकाशन गरेको २०८२ सालको भित्ते पात्रो पनि विमोचन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button