तपाईँ सुन्दै हुनुहुन्छः

जनस्वास्थ्य प्रयोगशालाको क्षमता विस्तारमा प्रयासरत छौँ: मन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सबै परीक्षण हुने गरी क्षमता विस्तारमा प्रयासरत रहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियनको ३४औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित बृहत् स्वास्थ्य शिविरमा उहाँले प्रयोगशाला परीक्षणका लागि नमूना बाहिर पठाउनुपर्ने बाध्यता अन्त्य गर्न लागिपरेको बताउनुभयो ।

मन्त्री पौडेलले भन्नुभयो, “केही समयअघि केही रोगको प्रयोगशाला परीक्षणका लागि बाहिर पठाउनुपर्ने बाध्यता थियो । हाल प्रयोगशालाको क्षमता अभिवृद्धि गरेर नेपालमै परीक्षण सम्भव गराउने परिस्थिति बनेको छ । बाहिर जानु नपर्ने गरी यही परीक्षणको व्यवस्था गर्न यसपटक बजेटले पनि सम्बोधन गरेको छ । उपचार प्रणालीलाई व्यवस्थित गर्ने सन्दर्भमा थुप्रै काम गर्न कोसिस भइरहेको छ ।”

स्वास्थ्यको उपकरण खरिद प्रक्रियालाई पनि पारदर्शी बनाउन विभिन्न विधि अपनाइरहेका छौँ भन्दै उहाँले बिग्रिएका उपकरण राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गरेपछि सञ्चालनमा आइरहेको बताउनुभयो । 

राष्ट्रियसभा सदस्य पदम परियारले फिल्डमा खटेर काम गर्नुपर्दा पत्रकारले स्वास्थ्यमा ध्यान दिन नपाइरहँदा यस्ता स्वास्थ्य शिविरले केही राहत दिने बताउनुभयो । उहाँले अपाङ्गता भएका पत्रकारको मुद्दालाई पनि प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

प्रेस युनियन काठमाडौँ शाखाका अध्यक्ष महेश्वर गौतमले सधैँ जोखिम मोलेर काम गरिराख्ने पत्रकारलाई स्वास्थ्यप्रति सचेत गराउन शिविर आयोजना गरिएको बताउनुभयो । 

नेपाल प्रेस युनियन, काठमाडौँ शाखाद्वारा आयोजित शिविरमा वीर अस्पतालका विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य जाँच, तिलगङ्गा आँखा अस्पतालका विशेषज्ञबाट आँखा जाँच, भक्तपुर क्यान्सर अस्पतालका विशेषज्ञबाट पाठेघर र स्तन क्यान्सरको स्क्रिनिङ, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट रगत र पिसाब जाँच, चिरायु डेन्टल केयरका तर्फबाट दन्त परीक्षण गरिएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button