तपाईँ सुन्दै हुनुहुन्छः

गणतन्त्र सुदृढ गर्नु सबै पेसाकर्मीको पनि दायित्व : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निरङ्कुश राजतन्त्रमा विकास र सुशासन हुन नसकेकाले जनताले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्नु सबै पेसाकर्मीको दायित्व भएको बताउनुभएको छ ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उहाँले सबैले सँगै लडेर ल्याएको लोकतन्त्र र प्राप्त उपलब्धिलाई रक्षा गर्दै कसरी सुदृढ बनाउने भन्नेमा लाग्न आग्रह गर्नुभयो ।

“निरङ्कुश हुकुमी शासनकालमा यस्ता संघ–सङ्गठन खुल्ने स्थिति थिएनन् । अहिले तपाईँहरू पेसागत र व्यावसायिक जिम्मेवारीका साथ राष्ट्रिय उत्तरदायित्व बोकेर अगाडि बढ्नुभएको छ ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “यही जेठ १५ गते हामीले गणतन्त्र दिवसको उत्सव मनायौँ । राजतन्त्र पक्षधरहरूले विरोध प्रदर्शन गरे । उनीहरुलाई जनमत सङ्ग्रह भएको लाग्यो रे । तर पहिलो दिन दान (पैसा) दिएर केही मान्छे ल्याइए । दोस्रो र तेस्रो दिन मान्छेहरू घट्दै गए । अगाडि हिँड्न खोजेको घोडालाई पछाडि फर्काउन नखोज । घोडाले लात्ताले हान्न सक्छ, होस् गर ।”

“दरबार हत्याकाण्डपछि कुशको बाहुनजस्तो नक्कली राजतन्त्र आयो । त्यसले झन् निरङ्कुशता लाद्यो । जनताको अधिकार खोस्यो । विकास गरेन । देश लुटेर, संविधानभन्दा माथि बसेर पैतृक सम्पत्ति थुपार्‍यो । अनि अहिले फेरि त्यही राजतन्त्र ल्याउनुपर्छ भन्दा लाज मान्नुपर्ने हो ।”, प्रधानमन्त्री ओलीको भनाइ थियो, “यस्ताहरूले आफूलाई सूर्यका सन्तान भनेर जनतालाई कस्तो बेवकुफ बनाउन खोजिँदैछ । यस्ता कुराहरूसँग हामी सचेत हुनुपर्छ । यो जनताको सामाजिक उत्तरदायित्व हो । आफूले लडेर ल्याएको व्यवस्थाको रक्षा गर्न उभिनुपर्छ । प्रणालीमा केही कुरा फेर्न परे हामी यसलाई अझ सुन्दर लोकतन्त्र बनाउने गरी फेर्छौँ तर प्रतिगमन अब सम्भव छैन ।”

चिकित्सा विज्ञान यो तहमा नपुगेको भए र अस्पताल नभएको भए आफ्नो बिसौँ वार्षिक पुण्य तिथि सकिइसकेको हुन्थ्यो भन्दै प्रधानमन्त्री ओलीले चिकित्सा क्षेत्रको महत्व मान्छेको आयुसँग रहेकाले स्वास्थ्यकर्मीलाई सचेत नागरिक भएकाले राष्ट्रिय दायित्वमा पनि लाग्न जोड दिनुभयो ।

“भगवानमा विश्वास गर्नेहरुको म चित्त दुखाउन चाहन्न तर मैले डक्टर र नर्सहरूले कठिन स्थितिमा पनि बिरामी मान्छेलाई बचाएको देखेको छु । त्यस कारण म त भन्छु, डक्टरर्स आर ग्रेटर द्यान द गड्स।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “आज स्वास्थ्य क्षेत्रले असाधारण विकास गरेको छ । हामीले प्रतिरोधभन्दा अगाडि निरोधात्मक सचेतनामा लाग्नुपर्छ । यस महासङ्घले भूमिका खेल्न सकोस् ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button