सोलुखुम्बुमा किशोर किशोरी मैत्री स्वास्थ्य संस्था
सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर १० मा अवस्थित वोङछु शेर्पा मेमोरियल अस्पताललाई किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ ।
सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले औपचारिक रूपमा किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गर्नुभएको हो ।

त्यस अवसरमा मेयर शेर्पाले यो अस्पताल सोलुदूधकुण्ड नगरपालिकाको दोस्रो मुख्य र एउटा ठूलो भूगोलमा रहेको जनतालाई सेवा दिने स्वास्थ्य संस्था भएको उल्लेख गर्नुभयो । किशोर किशोरी नै भविष्यका आशा भएकाले उनीहरूको स्वास्थ्यलाई नगरपालिकाले अत्यन्तै गम्भीर तथा संवेदनशील भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै वडा नम्बर १० का अध्यक्ष होमबहादुर मगरले अस्पतालको समुचित व्यवस्थापनका लागि सबै पक्षसँग सहकार्य गर्दै जानुपर्ने आवश्यकता औँल्याउनुभयो । भविष्यमा सबै पक्षबाट सक्षम नागरिकको विकास गर्न किशोर किशोरीलाई उचित वातावरण प्रदान गर्न यसले महत्वपूर्ण सहयोग पुग्ने उहाँले बताउनुभयो ।
अस्पताल किशोर किशोरी मैत्री स्वास्थ्य संस्था बन्नका लागि तोकिएका मापदण्डको ८० प्रतिशत मापदण्ड पूरा गरेपछि घोषणा गर्ने प्रावधान रहेको सोलुदूधकुण्ड नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चमर बहादुर मगरले जानकारी दिनुभयो ।
गोपनीयता सुनिश्चितता, अनुकूल भौतिक पूर्वाधार, सेवा समय लचिलो हुनुपर्ने, सूचना तथा परामर्श सेवा दिने, सामाजिक रुपमा कमजोर, अपाङ्गता भएका वा टाढा क्षेत्रका किशोर/किशोरीहरूलाई सेवा लिन सहज हुने व्यवस्था र सामुदायिक सहभागिता लगायतको मापदण्डहरू पूरा गरेपछि यसलाई औपचारिक रुपमा किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको उहाँको भनाइ छ । हालसम्म नगरपालिकामा तीनवटा स्वास्थ्य संस्थालाई किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्