नेपालको विकासमा चीनको सहयोग महत्वपूर्ण रहँदै आएको छ: पूर्वराष्ट्रपति भण्डारी
काठमाडौँ I चीन भ्रमणमा रहनुभएकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र चीनको तेह्रौँ राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समितिका उपाध्यक्ष तथा चिनियाँ अन्तर्राष्ट्रिय समझदारी संघका अध्यक्ष जी बिङस्वानबीच भेटवार्ता भएको छ ।

उहाँहरू बीच शुक्रबार साँझ गान्सु प्रान्तको डुनह्वाङ शहरमा भेटवार्ता भएको हो । भेटवार्तामा पूर्व राष्ट्रपति भण्डारीले नेपालको विकास एवम् नेपाली जनताको सुख र शान्तिको पक्षमा चीनले बिनाशर्त सहयोग गर्दै आएकोमा धन्यवाद दिनुभयो । पूर्व राष्ट्रपति भण्डारीले दुई देशबीचका समझदारीहरू विभिन्न कारणले कार्यान्वयन हुन विलम्ब भए पनि अब त्यसलाई अगाडि बढाउन दुवै पक्ष क्रियाशील हुनुपर्ने पनि उल्लेख गर्नुभयो । यसैगरी विभिन्न कारणले नेपालमा सरकार अस्थिर हुने गरेपनि जनस्तरमा सम्बन्धलाई बलियो बनाउन सके दुई देशबीचको नीति र सम्बन्धमा स्थायित्व हुनसक्ने धारणा राख्नुभयो ।
बुद्धको जन्मभूमि नेपाल र बुद्धका अनुयायी रहेका चीनबीचको सम्बन्धका अनेक आयाम रहेको भन्दै उहाँले बहुआयामिक सम्बन्ध र सहकार्यले एसियाली सभ्यताको प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
भेटमा चिनियाँ अन्तर्राष्ट्रिय समझदारी संघका अध्यक्ष जी बिङस्वानले भण्डारी नेपालको राष्ट्रपति हुनुहुँदा चीनका राष्ट्रपति सी चिनफिङबाट भएको नेपाल भ्रमण र त्यसवखत सम्पन्न समझदारीले दुइदेशको सम्बन्धमा नयाँ आयाम थपेको बताउनुभयो । उहाँले आपसी सम्बन्धलाई अझ उचाइमा पुर्याउन मिलेर काम गर्नुपर्ने बताउँदै चीनले कुनै स्वार्थ नराखी नेपाल सरकार र नेपाली जनताको चाहना बमोजिम सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । जी ले सिल्क रोड परियोजना मार्फत चीन र नेपालका साथै उत्तर पश्चिम एशियालाई मध्यपूर्वसम्म जोड्न सकिने पनि बताउनुभयो ।
अध्यक्ष जी बिङस्वानले स्थिर सरकार र राष्ट्रिय एकताबाटै समृद्धि हासिल गर्दै चुनौतीको सामना गर्न सकिनेमा चीन सधैँ विश्वस्त रहेको उल्लेख गर्नुभयो । तर कुनै पनि देशको प्रणाली र सरकार कस्तो छान्ने भन्ने निर्णय गर्ने अधिकार त्यहाँका जनताकै हुनेमा आफूहरू स्पष्ट रहेको समेत उहाँले बताउनु भयो । भेटमा पूर्व राष्ट्रपति भण्डारी नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलका सदस्यहरूका साथै चिनियाँ उच्च अधिकारीहरू सहभागी हुनुहुन्थ्यो ।
प्रतिक्रिया राख्नुहोस्