फेवाताल: संरक्षण क्षेत्र घोषणा, ६ महिनाभित्र संरचना हटाइने
पोखरा, कास्की । फेवातालको संरक्षणका लागि पोखरामा गरिएको पछिल्लो नापजाँच र सिमाङ्कनपछि १४,५७० रोपनी ५ आना २ दाम क्षेत्रलाई कानुनी रूपमा संरक्षण क्षेत्र घोषणा गरिएको छ। पोखरा महानगरपालिकाद्धारा आज आयोजित पत्रकार सम्मेलनमा ६ महिनाभित्र मापदण्डभित्र पर्ने सबै संरचना हटाइने जानकारी दिएको हाे ।
सर्वोच्च अदालतको आदेशअनुसार तालको उच्चतम वर्षायामको जलस्तरलाई आधार मानी त्यसको ६५ मिटरभित्रको भू–भागलाई हरियाली क्षेत्र बनाइनेछ। यस क्षेत्रभित्रका घर, होटल, रेस्टुराँलगायत सम्पूर्ण भौतिक संरचना हटाइने जनाइएको छ।
फेवाताल क्षेत्र निर्धारण पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र संघीय सरकारको समन्वयमा गरिएको हो। सिँचाइ डिभिजन कार्यालय कास्कीको १० वर्षे जलस्तर रेकर्डका आधारमा तालको उच्चतम जलस्तर ७५४५५ मिटर निर्धारण गरिएको छ। सो अनुसार जलघर क्षेत्र १२,४६८ रोपनी ३ पैसा ३ दाम रहेको र ६५ मिटर थप्दा संरक्षण क्षेत्र १४ हजार रोपनीभन्दा बढी पुगेको हो।
अदालतको २०८० असार ४ गतेको आदेशमा संरक्षण क्षेत्रमा पर्ने सबै निजी, सरकारी वा सार्वजनिक नाममा रहेको जग्गाको दर्ता बदर गरी फेवातालको नाममा कायम गर्न भनिएको छ। साथै, नयाँ निर्माण वा व्यवसाय निषेध गरी दिइएको स्वीकृति खारेज गर्न पनि निर्देशन दिइएको छ।
ताल क्षेत्र व्यवस्थापनका लागि मुख्यमन्त्रीको संयोजकत्वमा संघ, प्रदेश, स्थानीय सरकार र सुरक्षा निकाय प्रतिनिधिहरू समावेश गरिएको उच्चस्तरीय समिति गठन गरिएको छ। हालसम्म २४ स्थानमा ४० से.मी. उचाइका पिल्लर गाडिएका छन् र १,०५५ डिजिटल पोल गाड्ने काम थालिएको पोखरा महानगरका मेयर धनराज आचार्यले जानकारी दिनुभयो ।
अदालतले सन् २०१८ अघि (वि.सं. २०३१ सालसम्म) कायम गरिएका जग्गा सरकारी मानिने र मुआब्जा नदिइने उल्लेख गरेको छ। त्यसपछिका संरचनाका हकमा कानुनअनुसार मूल्याङ्कन गरी मुआब्जा दिने प्रक्रिया अघि बढाइनेछ।
सरकारले फेवाताललाई पर्यावरणीय, सांस्कृतिक र पर्यटन सम्पदाका रूपमा जोगाउन तीन तहका सरकार मिलेर आदेश कार्यान्वयनमा प्रतिबद्ध रहेको जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्