तपाईँ सुन्दै हुनुहुन्छः

बेइजिङ संवादमा पूर्वराष्ट्रपति भण्डारी: ‘छिमेकीसँग साझा भविष्य निर्माणमा राजनीतिक दलको भूमिका’ महत्त्वपूर्ण

बेइजिङ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागद्वारा बेइजिङमा आयोजित “छिमेकी देशहरूसँग साझा भविष्य निर्माण- राजनीतिक दलहरूको भूमिका” विषयक संवाद सम्मेलनलाई सम्बोधन गर्नुभएको छ।

सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले विश्वमा भइरहेको तीव्र परिवर्तन र जटिलताका बीच साझा भविष्य निर्माणका लागि राजनीतिक दलहरूको भूमिका अपरिहार्य रहेको बताउनुभयो।

सम्बोधनको सम्पादित अंस

चीनसँगको सम्बन्ध र सहकार्यको महत्त्व
पूर्वराष्ट्रपति भण्डारीले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक, सांस्कृतिक, र आपसी विश्वासमा आधारित रहेको बताउनुभयो। उहाँले यस सम्बन्धलाई ‘राजनीतिक, आर्थिक र कूटनीतिक आयाममा मात्र सीमित नभई भावनात्मक निकटता र आपसी सहयोगको गहिरो परम्पराले जोडिएको भन्दै व्याख्या गर्नुभयो। उहाँले नेपालले सधैँ चीनको सार्वभौमिकता र’ एक चीनु सिद्धान्तको समर्थन गर्दै आएकोमा जोड दिनुभयो।

आर्थिक सहकार्य र साझा समृद्धिको आधारमा दुई देशबीचको मित्रता थप बलियो र विश्वसनीय बन्दै गएको उहाँको भनाइ थियो। नेपाल र चीन दुवैले विकास र समृद्धिका लागि साझेदारीलाई राजनीतिक महत्त्व दिएको र यो साझेदारी अझ सुदृढ बन्ने विश्वास व्यक्त गर्नुभयो।

नेपालको विकास यात्रा र चिनियाँ अनुभवको सान्दर्भिकता
पूर्वराष्ट्रपति भण्डारीले नेपालको वर्तमान यात्रा लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, शान्तिपूर्ण सामाजिक रूपान्तरण र आर्थिक समृद्धिमा केन्द्रित रहेको उल्लेख गर्नुभयो। यस मार्गमा चिनियाँ कम्युनिष्ट पार्टीको ऐतिहासिक र समसामयिक अनुभव नेपालका लागि मूल्यवान् र मार्गदर्शक बनेको उहाँले बताउनुभयो।

उहाँले चिनियाँ विशेषतासहितको समाजवाद ले चीनलाई आर्थिक, सामाजिक, सांस्कृतिक र प्राविधिक क्षेत्रमा अभूतपूर्व सफलता दिलाएकोमा प्रशंसा गर्नुभयो। साथै, राष्ट्रपति सी चिनफिङको नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवाद को अवधारणाले चीनलाई आधुनिक समाजवादी राष्ट्र र सांस्कृतिक रूपले उन्नत तथा समृद्ध बनाउने प्रयासमा सफलता मिल्ने विश्वास व्यक्त गर्नुभयो।

मदन भण्डारीको योगदान र एमालेको राष्ट्रिय अभियान
पूर्वराष्ट्रपति भण्डारीले तत्कालीन महासचिव स्वर्गीय मदन भण्डारीले प्रतिपादन गर्नुभएको ‘जनताको बहुदलीय जनवाद’ को सिद्धान्तले समाजवाद निर्माणका लागि मौलिक अवधारणा प्रस्तुत गरेको स्मरण गर्नुभयो। उहाँले चीनको औपचारिक भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीसँगको सम्बन्ध सुदृढ गर्न मदन भण्डारीले पुर्‍याउनुभएको योगदानको पनि चर्चा गर्नुभयो।

नेपाल कम्युनिष्ट पार्टी एमाले) ले आफ्नै विशिष्ट परिस्थितिमा सामाजिक(आर्थिक रूपान्तरणको मार्ग अवलम्बन गर्दै आएको उहाँले बताउनुभयो। नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीत्वमा गठित वर्तमान सरकार ‘ समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने साझा राष्ट्रिय अभियानमा अग्रसर भइरहेको जानकारी गराउनुभयो।

पार्टी-पार्टी सम्बन्ध र भविष्यको सहकार्य
पूर्वराष्ट्रपति भण्डारीले नेकपा एमाले र चिनियाँ कम्युनिष्ट पार्टीबिचको सम्बन्ध कूटनीतिक औपचारिकता मात्र नभई विचार, व्यवहार, रणनीति र नीति निर्माणको गहन सहकार्य भएको स्पष्ट पार्नुभयो। विगतका उच्चस्तरीय भ्रमण, प्रशिक्षण, कार्यशाला, नीति संवाद र पार्टी-पार्टी सम्बन्धले दुवै पक्षलाई गहिरो सैद्धान्तिक परिपक्वता र सङ्गठनात्मक अनुभव प्रदान गरेको उहाँले बताउनुभयो।

उहाँले छिमेकी देशहरूबारे शान्तिपूर्ण, सुरक्षित, समृद्ध, सुन्दर र मैत्रीपूर्ण घर निर्माण गर्ने साझा दृष्टिकोण प्रस्तुत गरेकोमा चिनियाँ कम्युनिष्ट पार्टीलाई धन्यवाद दिनुभयो।

एसियाको भूमिका र भविष्यको सङ्कल्प
पूर्वराष्ट्रपति भण्डारीले एसिया विविध सभ्यता र संस्कृतिसहित पृथ्वीको एक तिहाइ भू(भाग ओगटेको र विश्वको दुई तिहाइ जनसङ्ख्या बसोबास गर्ने सुन्दर महादेश भएकोले एसियाको शान्ति र समृद्धिले विश्वकै शान्ति र समृद्धिका लागि महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो।

उहाँले राष्ट्रपति सी चिनफिङले ‘जब एसिया हाम्रो हुन्छ, सम्पूर्ण विश्वलाई फाइदा हुन्छ’ भन्दै सधैँ जोड दिँदै आउनुभएको स्मरण गराउनुभयो। यो अभिव्यक्तिले छिमेकी राष्ट्रहरूसँग साझा भविष्य भएको समुदाय निर्माण गर्ने चीनको दीर्घकालीन दृष्टिकोणलाई प्रतिबिम्बित गर्ने उहाँको भनाइ थियो।

पूर्वराष्ट्रपति भण्डारीले एसियाली मुलुकहरूबिचको सहकार्य एक राम्रो सुरुवात भएको र यसले एसियाको पुनर्जागरणलाई उजागर गरेको विश्वास व्यक्त गर्नुभयो। उहाँले यस संवाद कार्यक्रमलाई केवल एक बैठक मात्र नभई भविष्य निर्माण प्रक्रियाको महत्त्वपूर्ण कडी भएको बताउँदै यस्ता संवाद विषयगत र नियमित बनुन् भन्ने चाहना व्यक्त गर्नुभयो।

भविष्यमा चीनसँग महत्त्वपूर्ण आयाममा सहकार्य अगाडि बढाउन सकिने भन्दै भण्डारीले नीति संवादको सघन संयन्त्र विकास गर्नुपर्ने, युवा पुस्ताका नेता र कार्यकर्ताबिच अन्तरक्रिया बढाउनुपर्ने, र क्षेत्रीय शान्ति तथा स्थायित्वमा राजनीतिक दलहरूको योगदानलाई औपचारिक रूपमा मापन गर्नुपर्नेमा जोड दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button