छेडागाड नगर अस्पताललाई तीन करोड बढीको स्वास्थ्य उपकरण हस्तान्तरण
नेपालगञ्ज । कुमारी फाउन्डेसन काठमाडौँले जाजरकोटको छेडागाड नगरपालिका वडा नं. ५ स्थित फुर्किचउरमा रहेको नगर अस्पताललाई तीन करोड बढीको स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ ।
आज नेपालगञ्जमा आयोजित एक कार्यक्रमका बीच रोटरी क्लब अफ काठमाडौँ र रोटरी क्लब अफ मुम्बई कप परेडले कुमारी फाउन्डेसनलाई उपलब्ध गराएको स्वास्थ्य उपकरण फाण्डेसनले छेडागाड नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहनुभएका फाउन्डेसनका अध्यक्ष राजीव विक्रम शाहले पालिकाका अध्यक्ष रत्न बहादुर खड्कालाई उक्त उपकरणहरू हस्तान्तरण गर्दै स्थानीयलाई स्वास्थ्य सेवाको पहुँच उपलब्ध गराउने आफ्नो सपनाले पूर्णता पाएको भन्दै खुसी व्यक्त गर्नुभयो । २०६७–०६८ सालमा जाजरकोटमा झाडापखाला फैलिँदा करिब दुई सय नागरिकले ज्यान गुमाएका थिए । हजारौँ नागरिक प्रभावित भएका थिए । त्यतिबेला पनि शाहले आफ्नै लगानीमा हेलिकप्टर चार्टर गरेर औषधि र चिकित्सक गाउँगाउँमा पुर्याएर रोग नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्नुभएको थियो ।
मन्त्री शाहले स्वास्थ्य चौकी अभावमा नागरिकले अकालमा ज्यान गुमाउनु परेको दर्दनाक अवस्था देखेरै अस्पताल सञ्चालनका लागि निःशुल्क जग्गा उपलब्ध गराउनुभएको थियो । त्यही जग्गामा शाहले १५ शय्याको अस्पताल सञ्चालनका लागि पूर्वाधार समेत बनाउनुभयो । तर, चार पाँच वर्ष अघि नै सञ्चालनमा आउनुपर्ने अस्पताल विभिन्न कारणले अलपत्र अवस्थामै रह्यो । अस्पतालका लागि रोटरी क्लबले कुमारी फाउन्डेसनलाई उपलब्ध गराएको करोडौँ मूल्यका स्वास्थ्य सामग्री नेपालगञ्जमै विगत तीन वर्षदेखि अलपत्र जस्तै भए । तर, अहिलेका नगर प्रमुख खड्काले अस्पताललाई आफ्नो पालिका मातहतमा ल्याउने सकारात्मक प्रयासका बीच लामो समयसम्म नेपालगञ्जमा थन्किएर रहेका करोडौँ मूल्यका स्वास्थ्य उपकरणहरू जाजरकोट लगिने भएको छ ।

‘मानव सेवाको उद्देश्यले यी स्वास्थ्य सामग्रीहरु छेडागाड नगर अस्पताललाई हस्तान्तरण गरिएको हो,ु शाहले भन्नुभयो–‘यसमा कुनै राजनीतिक भाव छैन । आधारभूत स्वास्थ्य सेवाबाट कुनै पनि नागरिक बञ्चित हुन नपरोस् भन्ने एउटा मात्रै उद्देश्य हो ।’ पालिकाका नगर प्रमुख खड्काले प्राप्त स्वास्थ्य उपकरणहरुको उपयोग र संरक्षणमा पालिका प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले अस्पताललाई नमूना अस्पताल बनाउने घोषणा गर्नुभयो ।
बजेट र जनशक्ति व्यवस्थापनमा पालिकाले पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । करिब ७–८ करोडको भौतिक संरचना निर्माण भइसकेकाले फाउन्डेसनबाट प्राप्त उपकरणले स्वास्थ्य सेवा प्रवाहका निमित्त ठूलो भूमिका निर्वाह गरेको उहाँले बताउनुभयो । अस्पतालको भौतिक पूर्वाधारमा आवश्यक मर्मत सम्भार गरेर आगामी असार ५ गते भव्य कार्यक्रमका बीच सेवा सुरु गरिने पनि उहाँले जानकारी दिनुभयो ।

फाउन्डेसनले डेन्टल, आँखा, गाइने, बालरोग विभाग, जनरल वार्ड, इएन्टी वार्डमा आवश्यक पर्ने बेसिक र सर्किजल स्वास्थ्य सामग्री नगर अस्पताललाई उपलब्ध गराएको छ । त्यसैगरी प्रयोगशालाका लागि आवश्यक पर्ने महत्वपूर्ण उपकरण पनि उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत हेमकुमार ढकालले बताउनुभयो । कार्यक्रममा रोटरी क्लबका पूर्व अध्यक्ष शशी सत्याल, सर्भिस चेयर सञ्जय कुमार अग्रवाल, जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख कालीबहादुर खत्री लगायतको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्