‘भाषा जीवन्त राख्न मातृभाषा पत्रकारिता आवश्यक छ’

काठमाडौँ । मातृभाषा पत्रकारिताले भाषाको संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सरोकारवालाले बताएका छन् ।
भाषा आयोगका अध्यक्ष डा गोपाल ठाकुरले भाषा जीवन्त राख्न मातृभाषा पत्रकारिता आवश्यक रहेको र त्यसलाई प्रविधिसँगै जोडेर लैजान सक्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
प्रेस काउन्सिल नेपालद्वारा आज आयोजित पाँच मातृभाषामा अनुवादित आचारसंहिता पुस्तिका एवं संहिता भाषागत पत्रकारिता विशेषाङ्क पुस्तक सार्वजनिकीकरणमा उहाँले भन्नुभयो, “भाषा जोगाउन सबैको सामूहिक प्रयासको खाँचो छ । स्थानीयपन नहुने र मौलिकता छोडियो भने मातृभाषा रहँदैन । पत्रकारिताको माध्यमबाट मातृभाषाको संरक्षण गर्न जरुरी छ ।”
डा ठाकुरले लेख्यरुप नभएका भाषाको प्रवर्द्धनका लागि प्रेस काउन्सिल नेपाल र भाषा आयोगबिच सहकार्य गर्न तयार रहेको बताउनुभयो । काउन्सिलले मातृभाषामा पत्रकार आचारसंहितालाई अनुवाद गर्ने कार्य सकारात्मक रहेको बताउनुभयो, “भाषा एकबाट अर्कोमा अनुवाद गर्नु आफैँमा नयाँ सिर्जना हो । यो एक एड्भेन्चर हो”, उहाँले भन्नुभयो ।
नेपाली मिडियामा विभिन्न आठ मातृभाषाका आचारसंहिता प्रयोगमा छन् । भाषा आयोगका अध्यक्ष डा ठाकुरसहित काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष धर्मेन्द्र झाले पुस्तिका सार्वजनिक गर्नुभयो ।

भोजपुरी, राई (वान्तावा), तामाङ, डोट्याली, लिम्बू भाषामा अनुवादित पत्रकार आचारसंहिता सार्वजनिक गरेको हो । यसअघि काउन्सिलले थारु, मैथिली र नेपाल भाषामा अनुवादित आचारसंहिता सार्वजनिक गरिसकेको छ ।
कार्यक्रममा राससका अध्यक्ष झाले मातृभाषा पत्रकारिताले आर्थिक सङ्कट भोगिरहेकाले फस्टाउन नसकेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “कुनै वर्ग तथा समुदायको पहिचान जोगाउने माध्यम नै भाषा हो । भाषा पहिचान, परिचय, सभ्यतासँग जोडिएको विषय हो । स्थानीय निकायलाई पनि भाषा जगेर्नामा जिम्मेवार बनाउनुपर्ने बेला आएको छ ।”
उहाँले देशका धेरै भूभागमा अझै पनि नेपाली भाषा बुझ्ने समुदाय नभएकाले मातृभाषामा पत्रकारिता गर्नु जरुरी रहेको उल्लेख गर्नुभयो । “आम जनता सुसूचित गर्न मातृभाषा पत्रकारिताको अर्को विकल्प छैन”, उहाँले भन्नुभयो । मातृभाषा र स्थानीयपनलाई बेवास्ता गरिए देशको लोकतन्त्र सबल नहुने उहाँले बताउनुभयो ।
प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिलले भाषाभाषीको संरक्षण तथा संवर्द्धनमा काम गर्दे आएकामा यो पनि एउटा महत्त्वपूर्ण कदम रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “भाषागत पत्रकारितालाई कसरी बलियो बनाउन सकिन्छ भन्नेमा बहस जरुरी छ । भाषागत पत्रकारिताले हाम्रो पत्रकारिता सुन्दर बन्न पुगेको छ । सञ्चारको सबैभन्दा नजिकको र बुझिने भाषा नै मातृभाषा भएकाले यसको प्रवर्द्धनका निम्ति काउन्सिलले काम गरेको हो ।”
गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले पत्रकार आचारसंहिता पत्रकारले मात्र नभई सबैले बुझ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अब पत्रकारिताको गुणस्तरको विषयमा बहस र छलफल हुन आवश्यक छ । भाषाभाषीको संरक्षणमा गोरखापत्रले साथ दिँदै आएको छ । विभिन्न भाषामा सामग्री उत्पादन गर्दै आएको छ ।”
सार्वजनिक सेवा प्रसारणका सञ्चालक समिति सदस्य फूलमान बलले पत्रकारिताको माध्यमबाट मातृभाषा विस्तारका लागि सञ्चारको शैली फेरिनुपर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “पत्रकारिताको माध्यम रूपान्तरण हुनुपर्छ । अहिले न्यू मिडियाको प्रचलन छ । यी अनुवाद गरिएकालाई भिजुअल, अडियो वा विभिन्न माध्यमबाट पनि लानुपर्छ । न्यू मिडियामैत्री बनाउनुपर्छ ।”
प्रतिक्रिया राख्नुहोस्