तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरी प्रतिष्ठानद्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको भोजपुरी प्रतिष्ठानले सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई लक्षित गर्दै ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन गरेको छ । 

उक्त अभियान अन्तर्गत आज शुक्रबार कन्या माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार प्रमोद पाण्डेले मधेशमा भोजपुरी भाषाको प्रचलन र यसको महत्वको बारेमा प्रकाश पार्दै सबैलाई आफ्नो मातृभाषाको विकासमा योगदान पुर्‍याउन आह्वान गर्नुभयो । 

प्रतिष्ठानका सदस्य मुकेश महतो नुनियाले भोजपुरी लोक चित्रकलाको महत्व र यसलाई संरक्षण गर्ने उपायहरूको बारेमा जानकारी दिनुभयो । उहाँले विद्यार्थीहरूलाई चित्र कोर्ने सजिलो उपायबारे प्रयोगात्मक जानकारी दिनुभयो । 

कार्यक्रममा श्याम सर्राफले मातृभाषाको प्रयोगमा लाज नमानी यसको सकारात्मक पक्षलाई आत्मसात गर्न आग्रह गर्नुभयो । 

भोजपुरी प्रतिष्ठानकी अध्यक्ष अनिता साहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन माधुरी महतोले गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button