एकै दिन १३५ आरोहीद्वारा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण

सोलुखुम्बु । मौसम अनुकूल भएसँगै एकै दिन १३५ आरोहीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।
वसन्तयामको जारी आरोहणमा एकै दिन धेरै सङ्ख्यामा आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएको पर्यटन विभागले जनाएको छ।
सगरमाथाको आधारशिविरस्थित विभागको अस्थायी फिल्ड कार्यालयका अनुसार मौसम अनुकूल भएकाले हिजो आइतबार धेरै आरोहीले सगरमाथा चढेका हुन्। आज पनि धेरै सङ्ख्यामा आरोही सगरमाथाको चुचुरोमा पुग्ने योजनामा रहेको जनाइएको छ।
यसैबिच,फोटो पत्रकार पूर्णिमा श्रेष्ठले पाँचौँ पटक सगरमाथा आरोहण गर्नुभएको छ । श्रेष्ठले हिजो बिहान सगरमाथाको पाँचौँ पटक सफल आरोह गर्नुभएको सतोरी एडभेन्चर प्रालिले जनाएको छ। श्रेष्ठले गत वर्ष एउटै याममा तीन पटक सगरमाथाको आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएको थियो ।

त्यस्तै, नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) कुन्जाङ छोपेल शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गर्नुभएको छ। उहाँ आज बिहान ८ बजेर ५६ मिनेटमा सगरमाथाको चुचुरोमा पुग्नुभएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उहाँ सगरमाथाको चुचुरोमा पुग्नुभएपछि प्रहरी महानिरीक्षक दिपक थापाले बधाई दिनुभएको छ । उहाँलाई गत चैत २५ गते आइजिपी थापाले लैङ्गिक हिंसाविरुद्धको नारासहितको ब्यानर हस्तान्तरण गर्नुभएको थियो । यसअघि असई शेर्पाले लोबुचे हिमालको आरोहण गर्नुभएको थियो
प्रतिक्रिया राख्नुहोस्