रारा गोल्डकप: चौथो खेलमा चर्च ब्वाइज र बागमती भिड्दै
धनकुटा। धनकुटाको राजारानीमा जारी रारा गोल्डकप फुटबल प्रतियोगिताको १२ औँ संस्करणमा बिहीबार चौथो खेल हुँदैछ ।

बिहीबार हुने चौथो खेलमा ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ र बागमती युथ क्लब सर्लाही बीच हुँदै छ। खेल दिउँसो साढे ३ बजेपछि राजारानीस्थित पुण्य माविको खेलमैदान हुनेछ। यसअघि बुधबार भएको प्रतियोगिताको तेस्रो खेलमा साविक विजेता सलहेश फुटबल क्लब सिराहालाई ट्राइब्रेकरमा १ का विरुद्ध २ गोलले पराजित गर्दै विर्तामोड युनाइटेड क्लबले सेमिफाइनल यात्रा गरेको छ।
प्रतियोगिता अन्तर्गत शुक्रवारबाट सेमिफाइनलका खेल सुरु हुनेछन्। शुक्रबार हुने पहिलो सेमिफाइनल खेलमा गोल्डेन स्टार क्लब सुनसरी र विर्तामोड युनाइटेड क्लब झापा बीच हुनेछ भने प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल शनिबार एलएक्स सिटी फुटबल क्लब र बिहीबार (आज) को विजेताबिच हुने आयोजकले जनाएको छ।
आगामी जेठ ४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ७ लाख रुपैयाँ र उपविजेता लाई नगद ३ लाख रुपैयाँ हात पार्ने आयोजक रारा फुटबल क्लबका अध्यक्ष मणि चेम्जोङले जानकारी दिनुभयो। प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने लगायत सबै विधाका सर्वोत्कृष्ट खेलाडीलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ। धनकुटाको प्रतिष्ठित प्रतियोगिता मानिने रारा गोल्डकप ०५८ सालबाट सुरु भएको हो।
प्रतिक्रिया राख्नुहोस्