मुख्यमन्त्री आचार्यद्वारा लुम्बिनीमा सांस्कृतिक तथा खाना महोत्सव उद्घाटन

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्ध जयन्तीको अवसरमा आयोजित लुम्बिनी सांस्कृतिक तथा खाना महोत्सव २०८२ को सोमवार उद्घाटन गर्नुभएको छ ।
होटल व्यवसायी संघ लुम्बिनीलगायतका संघ संस्थाहरूले संयुक्त रूपमा उक्त महोत्सवको आयोजना गरेका हुन् । यो महोत्सवले बौद्ध कालीन समयको नाट्य शृङ्खला र रैथाने खानालाई समेत प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ ।
महोत्सवमा देश भित्र र बाहिरबाट आएका बौद्ध धर्मावलम्बीहरू सहित स्थानीयहरूको उल्लेखनीय सहभागिता देखिएको छ ।

मुख्यमन्त्री आचार्यले सो अवसरमा गौतम बुद्धले प्रतिपादन गरेका वाणी, वचन र सिद्धान्तहरू दिन प्रतिदिन सत्य सावित हुँदै गएको बताउनुभयो । उहाँले विश्वमा देखापरेको अशान्ति र हिंसाको अन्त्यका लागि बुद्धले अँगालेको मार्ग नै शान्तिको सन्देशको रुपमा स्थापित भएको धारणा व्यक्त गर्नुभयो ।
‘“हामी गर्व गर्न सक्छौँ, शिर उँचो पारेर, छाती चौडा पारेर भन्न सक्छौँ । बुद्धको सन्देश विश्व शान्तिको लागि उपयुक्त छ”, उहाँले भन्नुभयो, “यो पवित्र भूमिमा जन्मिएका हौँ भनेर विश्वमा चिनाउने अवस्था पुगेका छौँ।”
एक अर्को प्रसङ्गमा मुख्यमन्त्री आचार्यले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि व्यवसाय क्षेत्रमा लगानी बढेको तर नियमित उडान नहुनु चिन्ताको विषय भएको उल्लेख गर्नुभयो । यसप्रति प्रदेश सरकार संवेदनशील र गम्भीर बनेको जानकारी दिँदै अन्तर्राष्ट्रिय उडानहरू नियमित गर्न संघीय सरकारको ध्यानाकर्षण गरिएको र यसले चाँडै निकास पाउने विश्वास व्यक्त गर्नुभयो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि लुम्बिनी प्रदेशको मुहार फेरिने भनाइ उहाँको छ ।
प्रतिक्रिया राख्नुहोस्