तपाईँ सुन्दै हुनुहुन्छः

झापामा एकै परिवारका ३ जना अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण

भद्रपुर, झापा । जिल्ला प्रशासन कार्यालय झापाले बिर्तामोड नगरपालिकामा एकै परिवारका ३ जना अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण गरेको छ ।

वडा नम्बर ५ बुद्धटोलस्थित प्रेमबहादुर लिम्बू र मनकुमारी शेर्माका तिम्ल्याहा छोरी अति अशक्त १७ वर्षीया आकृति लिम्बू, इन्तुसा लिम्बू र इक्सा लिम्बूलाई जिल्ला प्रशासनले घरमै पुगेर नागरिकता वितरण गरेको हो । 

उनीहरुलाई आज सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईँले घरमै पुगेर नागरिकता प्रदान गर्नुभयो । उनीहरू तीन जनामध्ये इन्तुसा ओच्छ्यानबाट उठ्न नसक्ने अवस्थाकी छिन् ।

वडा नं. ५ का वडाअध्यक्ष रोहित प्रसाईँको उपस्थितिमा सहायक प्रमुख जिल्ला अधिकारी प्रसाईँसहित प्रमुख प्रशासकीय अधिकृत मोहनलाल पनेरु, नायव सुब्बा यदुनन्दन दाहाल, जीवन पौडेल, कर्मचारी नारायण राजवंशीको टोलीले नागरिकता प्रदान गरेको हो ।

अति अशक्त, अपाङ्गता भएका व्यक्ति कार्यालयसम्म पुग्न निकै समस्या हुने गरेका कारण घरमै पुगेर नागरिकता वितरण गर्दै आएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button