धनकुटाका गाउँ गाँउमा उभौलीको रौनक

धनकुटा । किरात समुदायको प्रमुख चाड साकेला (उभौली) पर्व धनकुटाका विभिन्न स्थानमा मनाइएको छ ।
धनकुटाको हिले स्थित चिया बगान टोलमा स्थानीय भेला भएर भव्यरुपमा उभौली पर्व मनाएका छन् । त्यस्तै सिधुवा, चौबिसेको राजारानीमा उभौली मेला नै लागेको छ । त्यस्तै धनकुटाकै लेउती, पाख्रिवासलगायत किरातको बसोबास रहेको स्थानमा धुमधामका साथ पर्व मनाइएको छ ।

किरात समुदायमा तीन चुल्हा तथा भूमिको पूजा गर्दै ‘खेतीपाती सप्रियोस्, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनासहित महिना दिनसम्म साकेला (उभौली) चाड मनाउने चलन छ । साकेला उभौलीको अवसरमा किरात समुदायको बसोबास रहेको प्रत्येक गाउँ तथा बस्तीमा युवायुवती, केटाकेटी र बुढापाकाको जमघट तथा ढोल–झ्याम्टासहित साकेला गीत र नाचले गुञ्जायमान बन्ने गरेको छ ।

साकेला उभौली चाड अन्नबाली छर्ने (रोप्ने) बेला अर्थात् वैशाख पूर्णिमादेखि महिना दिनसम्म मनाउने गरिन्छ । साकेला उभौलीको अवसरमा परम्परागत वेषभूषामा सजिएका दाजुभाइ, दिदीबहिनी, बुबा आमा, इष्टमित्र एक ठाउँमा भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला गीत गाएर साकेला सिली नाच्ने गरिएको छ। छिटको गुन्यु मखमलको चोली, पहेँलो पटुकी, खाँडीको दौरा सुरुवाल, ढाका टोपीलगायत किराती मौलिक वेषभूषामा ठाँटिएर हरेक किरातीका घरघरमा नाच्दै गाउँदै हर्षोल्लासका साथ मनाइने यो चाडमा किरात समुदाय मात्र नभइ गैर किरात समुदायका युवायुवती समेत औपचारिक तथा अनौपचारिक कार्यक्रममा सहभागी भएर साकेला सिली नाच्ने गरेको धनकुटा हिलेका बिकास मुखियाले जानकारी दिनुभयो ।

चराचुरुङ्गी तथा जीवजन्तुको नक्कल गर्दै ढोल÷झ्याम्टाको तालमा सुम्निमा र पारूहाङले सम्पूर्ण सृष्टि जगत्को रक्षा गरून् भन्ने कामनासहितका सन्देशमूलक गीत गाउँदै साकेला उधौली–उभौली मनाइन्छ । खुला आकाशमुनि ठूलो मैदानमा गोलो घेरा हालेर संयुक्त रूपमा नाचगान गरी हर्षोल्लासपूर्वक साकेला नाचिन्छ ।









प्रतिक्रिया राख्नुहोस्