तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा बिहेमा खाजा खाँदा १ सय जनाभन्दा बढी बिरामी  

जनकपुरधाम । धनुषामा बिहे भोजमा खाजा खाँदा १ सय जनाभन्दा बढी व्यक्ति बिरामी भएका छन् । 

जिल्लाको मिथिला विहारी नगरपालिका वडा नंं ८ ठेरा कचुरीका नरेश महराको छोरीको बिहेमा खाजा खाँदा जन्तीसहित एक सय जनाभन्दा बढी व्यक्ति बिरामी परेका हुन् । 

जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादवका अनुसार गएराति जनकपुर उपमहानगरपालिका वडा नंं २३ बिन्धीबाट ठेरा कचुरीमा जन्ती पुगेको र स्वयंवर सकिए लगतै खाजामा बुनियाँ, रसबरीलगायतका मिठाइ खुवाइएको थियो । उक्त खाजा खाए लगतै जन्तीसहित अन्य व्यक्तिहरूलाई पेट दुख्ने, रिँगटा लाग्ने, बान्ता हुने र त्यसपछि कमजोर हुने क्रम बढेपछि पालिकाको स्वास्थ्य शाखा र स्थानीयबासीले उद्धार गरेर प्रादेशिक अस्पताल जनकपुरधाम, स्थानीय स्वास्थ्य चौकीसहितको ठाउँमा भर्ना गरेका थिए ।

बिरामी परेका मध्ये ४५ जनाभन्दा बढी प्रादेशिक अस्पतालमा  र अन्य बिरामीहरू विभिन्न नीजि स्वास्थ्य संस्थाहरूमा उपचार गराएर निका भई घर फर्के पनि अझै केही बिरामीहरू प्रादेशिक अस्पतालमा उपचाररत छन् ।

फुड प्वाईजनिङका कारणले उक्त घटना भएको भन्दै स्वास्थ्य कार्यालय धनुषाका प्रमुख यादवले उपचारपछि अधिकांश बिरामीहरू खतरामुक्त रहेको  बताउनुभयो ।

बिहेमा खाजाको रुपमा वितरण भएको खाद्यान्नको खाद्य प्रयोगशाला जनकपुरधाममा परीक्षणका लागि पठाइएको स्वास्थ्य कार्यालय धनुषाले जनाएको छ । 

केही साता अगाडी धनुषाको लक्ष्मीनिया गाउँपालिकामा एक दलित परिवारकै बिहेमा खाजाको पाकेट खादा जन्तीसहितका १ सय जना बिरामी परेका थिए । 

जनचेतनाको अभाव तथा सुरक्षित तरिकाले खाद्यान्न नराख्ने गरेका कारणले पटक पटक यस्ता प्रकारको घटना हुन थालेको छ । गर्मीसँगै निक्कै ढिलो गरि खाजा खाने चलन रहेकाले यो समस्या हुने गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button