वीरगन्जमा बुद्धजयन्तीमा प्रभातफेरी,भिष्वा स्थित बौद्धस्तुपामा विश्वशान्तिका लागि प्रार्थना
वीरगन्ज । विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २६४९ औँ जन्मजयन्तीमा वीरगन्जमा पनि भव्यरुपमा मनाइएको छ ।
बुद्ध जयन्तीको अवसरमा आज बिहान वीरगन्जमा प्रभात फेरि निकाल्नुका साथै भिस्वा डाँडास्थित बौद्ध स्तूपमा पुगेर विश्व शान्तिको लागि प्रार्थना सहतक पुजाआराधाना गरिएको छ ।

वीरगन्ज बौद्ध समितिको आयोजना तथा वीरगन्ज जेसिज्, गौतम मावि, माउण्ट मकालु स्कुल लगायतका सङ्घसंस्थाको सहभागितामा माईस्थान पार्क परिसरबाट निकालिएको प्रभात फेरि घण्टाघर,लिंकरोड,बसपार्क हुदैं भिस्वा डाँडास्थित बौद्ध स्तूपमा पुगेर समापन भएको थियो । त्यसपछि भिस्वा डाँडास्थित बौद्ध स्तूपमा विश्व शान्तिको लागि पूजापाठ गर्दै सामूहिक रुपमा प्रार्थना गरिएको थियो । सो अवसरमा बुद्ध विहार तथा गुम्बामा लामागुरुहरूले पनि विशेष पूजा, मन्त्रपाठ गर्नुभएको थियो ।

वीरगन्ज बौद्ध समितिका अध्यक्ष डा. दीपक शाक्यको अध्यक्षता तथा वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहको उपस्थितिमा सम्पन्न सामूहिक प्रार्थना कार्यक्रममा वीरगन्ज जेसिजका अध्यक्ष सरोज चौरसिया,वीरगन्ज बौद्ध समितिका सचिव सुन्दर श्रेष्ठका साथै विभिन्न विद्यालयका विद्यार्थीहरूको पनि सहभागिता थियो ।

बुद्धजयन्तीकै अवसरमा आज साँझ भिस्वा डाँडास्थित बौद्ध स्तूपमा वीरगन्ज जेसिजले दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको वीरगन्ज जेसिजका अध्यक्ष सरोज चौरसियाले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्