तपाईँ सुन्दै हुनुहुन्छः

सगरमाथा संवादका लागि भारत सरकारबाट सवारीसाधन सहयोग  

काठमाडौँ । नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म आयोजना गर्न लागेको सगरमाथा संवादमा सहयोगस्वरुप भारत सरकारले १५ वटा विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ ।

आज परराष्ट्र मन्त्रालयमा आयोजित एक समारोहमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सवारीसाधन हस्तान्तरण गर्नुभयो । नेपाल-भारत सहयोग कार्यक्रमअन्तर्गत ती सवारीसाधन उपलब्ध गराइएका हुन् । 

त्यस अवसरमा मन्त्री डा राणाले सगरमाथा संवादका लागि उपलब्ध गराइएको  सहयोगका लागि भारत सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले जलवायु परिवर्तन नेपालको मात्र नभई यस क्षेत्रकै साझा चुनौतीका रूपमा रहेकाले यसको समाधानका लागि आपसी समन्वय र सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो । 

संवादले जलवायु परिवर्तनसम्बन्धी यस क्षेत्रका साझा समस्याको उजागर गर्दै तिनको समाधानका उपाय खोजीका लागिसमेत सामूहिक प्रयत्नको ‘मोडल’ तय गर्ने जानकारी दिँदै उहाँले यसमा भारत सरकारको सहयोग उल्लेखनीय रहेको बताउनुभयो । मन्त्री डा राणाले संवादको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र अब नेपाल सरकार विदेशी उच्चपदस्थ व्यक्तित्व तथा पाहुनाको स्वागतको प्रतीक्षामा रहेको बताउनुभयो । 

नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले भारत सरकारले नेपालको आर्थिक, सामाजिकलगायत क्षेत्रमा पुर्‍याउँदै आएको सहयोगको चर्चा गर्दै सगरमाथा संवादका लागि सवारीसाधन उपलब्ध गराउन पाएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले जलवायु परिवर्तनका साझा चुनौती समाधानमा अवलम्बन गरिने उपायमा भारत सरकार नेपालको साथमा रहेको बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button