नीति तथा कार्यक्रममाथि छलफल जारी
काठमाडौँ । राष्ट्रियसभाको आज बसेको बैठकमा सांसदहरुले सरकारले कृषि उत्पादन बढाउने गरी बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले संविधानले परिकल्पना गरेको मौलिक हकलाई कार्यान्वयन गर्न सबै राजनीतिक दलहरू एक ठाउँमा हुनुपर्नेमा जोड दिनुभयो ।
बैठकमा नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले नेपालको अर्थतन्त्रलाई सुधार गरी विकास निर्माणमा युवाहरूको सिप र कौसलता वृद्धि गर्न नयाँ कार्यक्रम ल्याउनु सकारात्मक भएकाले सोही अनुसार बजेट छुट्टाउन सरकारलाई सुझाव दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी माओवादीका सांसद गोपीबहादुर अछामीले मुलुकलाई समृद्ध बनाउने हो भने दलहरुबीच श्रम सहमति गरिकन कृषि श्रमिकहरूको उचित मूल्य, उत्पादन वृद्धि र बजारीकरणको व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी एमालेका सांसद सोनाम ग्याल्जेन शेर्पाले वन व्यवस्थापन, आर्थिक सुधार आयोगको प्रतिवेदन कार्यान्वयन र वैदेशिक लगानीलाई प्रतिफल बनाउने गरी सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले समग्र देशको हितलाई ध्यान दिएको बताउनुभयो ।
बैठकमा एकीकृत समाजवादी पार्टीकी सांसद मदनकुमारी शाहले नीति तथा कार्यक्रममा विकासलाई व्यवस्थित गरि अघि बढाउने कुरा सकारात्मक रहेको र आगामी वर्षहरुमा सांसदहरुले दिएको सुझाउका आधारमा नीति तथा कार्यक्रम र बजेट ल्याउन सके साँच्चै कार्यान्वयन गर्न सहज हुने विचार व्यक्त गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्