छैटौँ जुम्ला-रारा अल्ट्राम्याराथनमा दल बहादुर र कल्पना प्रथम
जुम्ला । छैटौँ जुम्ला रारा अल्ट्राम्याराथनको उपाधि पुरुष तर्फ दल बहादुर कुँवर र महिला तर्फ कल्पना बुढा विजयी हुनुभएको छ ।
५१ किलोमिटर दुरीको अन्तिम चेक प्वाइन्ट सबैभन्दा पहिला फिनिसिङ गरेर कुँवर र बुढाले छैटौँ जुम्ला-रारा अल्ट्रा म्याराथन उपाधि उचालेका हुन् । तातोपानी गाउँपालिका वडा नं ७ निवासी २३ वर्षीय कुँवरले ५१ किलोमिटर दुरी ५ घण्टा ५३ मिनेट ५७ सेकेण्डमा अन्तिम चेक प्वाइन्ट पार गर्दै प्रथम हुन सफल हुनुभएको हाे । दल बहादुर कुँवर म्याराथनको पाँचौँ संस्करणमा पनि प्रथम हुनुभएको थियो ।

त्यस्तै महिला तर्फ प्रथम हुन सफल धावक कल्पना बुढाले निर्धारित दुरी ७ घण्टा ५१ मिनेट ३१ सेकेण्डमा पार गर्नुभयो । पुरुष तर्फ दोस्रो हुनेमा ४२ वर्षीय त्रिभुवन आर्मी क्लबका सुबेदार होमलाल श्रेष्ठले ६ घण्टा ७ मिनेट ५५ सेकेन्डमा दुरी पार गर्नुभयो ।
तृतीय स्थान प्राप्त गर्न सफल सोम बहादुर रावतले ६ घण्टा १० मिनेट ०४ सेकेन्डमा पार गर्नुभयो गर्नुभयो । चौथो स्थान प्राप्त गर्न सफल चन्द बहादुर रावतले ६ घण्टा १९ मिनेट २८ सेकेन्ड र पाचौ हुने शेर बहादुर बुढाले ६ घण्टा ३१ मिनेट ४२ सेकेन्डमा दुरी पार गरेको आयोजकले जनाएको छ ।

साथै महिला तर्फ उपविजेता जुम्लाकै २० वर्षीय राज्यलक्ष्मी रावल हुन सफल हुनुभयो । उहाँले ५१ किमी दुरी ८ घण्टा ४८ मिनेट ४१ सेकेन्ड पूरा गनुृभयाे भने सन्दिभा बुढाले तेस्रो स्थान ग्रहण गर्न सफल हुनुभयो । चौथो स्थान प्राप्त गर्न सफल पुसा बुढाले ९ घण्टा ३७ मिनेट ०७ सेकेन्ड,पाँचौँ हुन सफल अनिशा गुरुङले ११ घण्टा ७ मिनेट २५ सेकेन्डमा दुरी पार गरि उत्कृष्ट स्थान हासिल गर्नुभयो ।
प्रतियोगितामा प्रथम,दोस्रो,तेस्रो र चौथो हुने धावकलाई क्रमशः जनही नगद एक लाख,७५ हजार हजार,५० हजार हजार र ३५ हजार,मेडल,प्रमाणपत्र हस्तान्तरण गरिएको आयोजक संस्था कर्णाली स्पोर्ट क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिनुभयो।
कर्णालीमा सहासिक खेल पर्यटनको विकास गर्न तथा विश्व सामु कर्णाली चिनाउन निरन्तर आयोजना भइरहेको म्याराथनले खेलाडीहरूमा उत्साह थपिएको बताउनुभयो । आर्थिक अभावका कारण अझै सोचे जस्तो गरी प्रतियोगितालाई व्यवस्थित गर्न नसकिएको उहाँको भनाई छ ।
त्यस्तै ५ र १० किमी दुरीमा उत्कृष्ट आउने धावकहरूलाई हिजोनै पुरस्कार वितरण गरिएको छ । छैटौँ जुम्ला-रारा अल्ट्रा म्याराथनको तीन विधामा गरी जम्मा ५९१ जना धावक सहभागी रहेका थिए ।
प्रतिक्रिया राख्नुहोस्