गोकर्णेश्वर नगरपालिका ‘योग नगर’ घोषणा

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकालाई ‘योग नगर’ घोषणा गरिएको छ ।
गोकर्णेश्वर वडा नम्बर १ पाथिभरास्थित गोकर्णेश्वर स्पोर्टस सिटी हलमा आज आयोजित कार्यक्रममा प्रतिनिधिसभा अर्थ समिति सभापति सन्तोष चालिसे, नगर प्रमुख दीपककुमार रिसाल, उपप्रमुख सान्नानी लामालगायतले ‘योग नगर’को औपचारिक घोषणा गर्नुभयो ।

त्यस अवसरमा सभापति चालिसेले विश्वभर विभिन्न नयाँ–नयाँ रोग फैलिएका र अशान्ति बढिरहेका बेला मानिसलाई स्वास्थ्य रक्षा र आत्मिक शान्तिका लागि योग महत्वपूर्ण विधि हुनसक्ने धारणा राख्नुभयो ।
नगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरी स्वास्थ्य सेवामा मुलुककै उत्कृष्ट रहेको गोकर्णेश्वर नगरपालिकाले योग र ध्यानलाई उच्च महत्व दिएको नगर प्रमुख रिसालले बताउनुभयो ।
उपप्रमुख सान्नानी लामाले शारीरिक र मानसिक स्वास्थ्यका लागि महत्वपूर्ण रहेको योगको विस्तारका लागि नगरपालिकाले सहयोग गर्दै आएको उल्लेख गर्नुभयो ।

एक हजारभन्दा बढी योग शिक्षकको सहभागिता रहेको सो कार्यक्रममा पतञ्जलि योग समिति नेपालका ललित शङ्कर योगी र अर्जना घिमिरेले योग साधना र ध्यानका बारेमा जानकारी गराउनु भएको थियो ।
नगरपालिकाका नौवटै वडाका ४० योग केन्द्रमा नियमित योगाभ्यास हुने गरेको नगर अध्यक्ष प्रमेश अधिकारीले जानकारी दिनुभयो ।
यसअघि, भक्तपुरलाई ‘योग जिल्ला’ र ललितपुरको गोदावरीलाई ‘योग नगर’ घोषणा गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्