धितोपत्र बोर्डले आईपीओको अनुमतिका लागि कमिसन मागेको भन्ने विषयमा छानबिन गर्न प्रतिपक्षी दलहरूको माग
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षी दलहरूले धितोपत्र बोर्डले आईपीओको अनुमतिमा कमिसन मागेको भन्ने विषयप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
सभाको बैठक सुरु भए लगत्तै विपक्षी दलहरूले सभामुख देवराज घिमिरेसँग समय मग गरी ८९ वटा कम्पनीका आईपीओको अनुमति रोकिएको विषयमा सरकारसँग जवाफ माग गर्नुभयो ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले धितोपत्र बोर्डमा कमिसनलाई लिएर बाहिर आएको घटनाका विषयमा भरपर्दो संयन्त्र बनाएर छानविन गर्न र यसका लागि रुलिङ गर्न सभामुख घिमिरेलाई आग्रह गर्नुभयो ।
सांसद सापकोटा र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद रोशन कार्कीले धितोपत्र बोर्डले साना परियोजनाहरूसँग पाँच प्रतिशत र ठूला आयोजनाहरूसँग सात प्रतिशतसम्मको कमिसनको बार्गेनिङ गरेका कारण २२ महिना देखी ४३ वटा जलविद्युत आयोजनाका ८९ वटा कम्पनीहरूको आइपियोको अनुमति रोकिएको बताउनुभयो ।
बैठकमा नेकपा एमालेका मुख्य सचेतक महेश वर्तौलाले मकवानपुरको राकसिराङमा गाडी दुर्घटना हुँदा १० जना घाइते भएको र ६ जनाको अवस्था गम्भीर रहेको भन्दै घाइतेहरूको उपर्युक्त उपचारको व्यवस्था गर्न माग गर्नुभयो ।
बैठकमा योगेन्द्र मण्डलले चैत पाँच गते मोरङको धनपालथानमा आगलागीबाट भएको क्षतिपछि अरूका घर र मदरसाहरूमा शरण लिएर बसेको भन्दै उनीहरुलाई राहत र आवासको व्यवस्था गर्न माग गर्नुभयो ।
सांसद ठाकुरप्रसाद गैरेले एनआरएनको निर्वाचन उत्पन्न समस्याको विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्