रारामा पहिलो पटक प्रकृति संरक्षण कोषको शाखा कार्यालय स्थापना
मुगु । रारा राष्ट्रिय निकुञ्ज क्षेत्रको संरक्षणलाई थप प्रभावकारी बनाउन राष्ट्रिय प्रकृति संरक्षण कोषको रारा शाखा कार्यालय स्थापना गरिएको छ। सोमबार रारा तालको किनारामा आयोजित विशेष समारोहमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले कार्यालयको उद्घाटन गर्नुभयो।

उद्घाटन कार्यक्रममा मन्त्री शाहीले राराको जैविक विविधता, वातावरणीय महत्व र प्राकृतिक सौन्दर्य संरक्षणका लागि शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो। जलवायु परिवर्तनका कारण कर्णालीका हिमाली जिल्लाहरूमा देखिएको असर न्यूनीकरणमा समेत कार्यालयको योगदान हुने उहाँको भनाइ थियो।
मन्त्री शाहीले रारा क्षेत्रलाई संरक्षण र पर्यटनको समुचित विकासका लागि वर्तमान सरकारले प्राथमिकतामा राखेको जानकारी दिनुभयो।

समारोहमा जिल्ला समन्वय समिति मुगुका संयोजक मन्जनबहादुर कार्की, छायानाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भाम, सोरु गाउँपालिकाका उपाध्यक्ष केशरजङ्ग शाही, प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डे, कोषका सदस्य सचिव डा। नरेश सुवेदी लगायत वक्ताहरूले रारा क्षेत्रको अद्वितीय प्राकृतिक सम्पदा संरक्षणले दीर्घकालीन पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने धारणा राख्नुभएको थियो ।
कार्यक्रम रारा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष विष्णुबहादुर रावलको अध्यक्षतामा सम्पन्न भएको थियो। रारा राष्ट्रिय निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत महेश न्यौपानेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
शाखा कार्यालयको स्थापनासँगै राराको संरक्षण, अनुसन्धान र विकासका गतिविधिहरू थप सङ्गठित र प्रभावकारी हुने अपेक्षा गरिएको छ। यसले स्थानीय बासिन्दा र सरोकारवालाहरूमा उत्साह र आशा जागेको छ।








प्रतिक्रिया राख्नुहोस्