लोप हुने अवस्थामा हुड्केली नाच
बाजुरा । बाजुरा लगायत सुदूरपश्चिमका जिल्लाहरूमा परम्परागत रुपमा प्रचलित एक मौलिक लोक नृत्य हुड्केली नाच पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ।

युवा पुस्ताले यस प्रती चासो नदेखाउनु र यही पेशा गरेर जीवन निर्वाह गर्न सकिने अवस्था पुराना पुस्ताले नदेखेपछि हुड्केली नाच लोप हुने अवस्थामा पुगेको मार्तडीका हुड्के कलाकार जब्बरे सनाइले बताउनुभयो ।

करिब डेढ दशक अगाडि बाजुरा गाउँ गाउँमा हरेक शुभ कार्यमा हुड्केली नाच्ने प्रचलन थियो। त्यतिबेला विवाह, व्रतबन्ध लगायत शुभ कार्यमा हुड्केली नचाइन्थ्यो। तर, पछिल्लो समय फ्याट्ट -फुट्ट बाहेक हुड्के नाच लोप हुने अवस्थामा पुगेको हो। मुख्यतः पश्चिमे संस्कृतिको बढ्दो आकर्षणले नाच लोपोन्मुख बनेको जानकारहरूको भनाइ छ। ‘आधुनिकताका नाममा यो नाच लोप हुने अवस्थामा पुगेको छ,’ हुड्केली नाचका जानकार काल्छे दमाइले बताउनुभयो ।
दमाइका अनुसार करिब एक दशकअघिसम्म गाउँगाउँमा हुड्केली नाच्ने भेटिन्थे। तर, अहिले मुस्किलले भेटिन्छन्। नयाँ पुस्ताले यसप्रति चासो नदिँदा र सरकारको कला संस्कृति जगेर्ना योजना भित्र नसमेटिँदा हुड्के नाच प्रति कसैको चासो नदेखिएको आभास आफूहरूलाई हुने गरेको लामो समय देखि हुड्के नाच नाच्दै आउनुभएका कलाकार जब्बरे सनाइले गुनासो गर्नुभयो।

पहिले हुड्के नाचेरै घरखर्च चलाउन सकिन्थ्यो। तर, अहिले त्यो अवस्था नरहेको दमाइको भनाइ छ। हुड्केली नाच्नेलाई स्थानीय भाषामा ‘हुड्के’ भनिन्छ।
हुड्केली नेपालको पश्चिमी भेगको प्रचलित नाच मानिन्छ। यो हुड्का (डमरुजस्तै एक हातले बजाउन मिल्ने बाजा)को तालसँग नाचिन्छ। यसमा राजा महाराज तथा पौराणिक गाथा गाइन्छ। हुड्केलीमा एक मुख्य हुड्के र अन्य चार–पाँच जना सहायक हुड्के हुन्छन्। यो नाचमा मुख्य हुड्केले गाएको गीत सहायक हुड्केले लय मिलाउँदै गाउँछन्। हुड्केली नाच्नेले सेतो पहिरन लगाएको हुन्छ भने टाउकोमा पनि सेतो पगडी र रातो कपडा छड्के पारेर कम्मरमा बाँधिएको हुन्छ।
पुराना पुस्ताका स्थानीयको निकै लोकप्रिय मानिने ऐतिहासिक हुड्के नाच ‘नयाँ पुस्तामा भने पश्चिमे संस्कृति मोहका कारण परम्परागत संस्कृति धरापमा परेको सरोकारवालाको भनाइ छ।







प्रतिक्रिया राख्नुहोस्