दलित र सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
बाँके । बाँकेको कोहलपुर – १ मा भूमिहीन दलित र सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ ।
भूमि समस्या समाधान आयोग बाँकेले जिल्लाका ९१ जना भूमिहीन दलित र सुकुम्वासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको जनाएको छ । भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनालको अध्यक्षतामा आयोजित कार्यक्रममा भूमि सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले लालपुर्जा वितरण गर्नु भएको छ।

बषौँँ पछि आफूले खेतीपाती गर्दै आएको जग्गाको पुर्जा पाएपछि कोहलपुरका भूमिहीन दलित परिवार खुसी भएका छन् । मन्त्री अधिकारीले राष्ट्रिय भूमि आयोगले देशभर भूमिहीन, दलित र सुकुम्वासीहरूलाई कानुनी प्रक्रिया पूरा गरेर वास्तविक भूमिहीनलाई जग्गा वितरण गर्ने प्रक्रिया सुरु गरिएको स्पष्ट पार्नुभयो । दलित समुदायले वर्षौंदेखि भोग्दै आएका भूमि क्षेत्रका समस्या र भूमिमा खोजिरहेको स्वामित्वबारे आफू जानकार रहेको मन्त्री अधिकारीको भनाइ छ ।
उहाँले लालपुर्जाविहीन स्थानीयबासीले लालपुर्जा पाए भन्ने सन्देश दिन अभियानको रूपमा अघि बढेको बताउनुभयो ।
लालपुर्जा वितरण कार्यक्रममा प्रतिनिधि सभा सदस्य सूर्य ढकाल, दिपा शर्मा, कोहलपुरका मेयर पूर्ण आचार्य, बाँके प्रहरी उपरीक्षक रामप्रसाद घर्तिमगर लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्