आर्थिक अनियमितताको विषयमा न्यायिक छानविन गर्न महासचिव गुरुङको माग
पोखरा । नेकपा माओवादी केन्द्रका महासचिव एवं पूर्व मन्त्री देव गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा भएको आर्थिक अनियमितताको विषयमा न्यायिक छानविन गर्न माग गर्नु भएको छ ।

प्रेस सेन्टर नेपाल कास्की शाखाले आज (शुक्रबार) पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव गुरुङले पोखरा विमानस्थल निर्माणको क्रममा ठुलो रकम आर्थिक हिनामिना भएको संसदीय छानविन समितिले दिएको रिपोर्टको आधारमा अब न्यायिक छानविन गर्न माग गर्नु भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव गुरुङले राष्ट्रिय गौरवको योजना,जहाँ सरकारले ऋणमा गरेको लगानीमा भ्रष्टाचार हुनु निकै दुःख लाग्ने विषय भएको बताउँदै उहाँले पोखरा विमानस्थल निर्माणको क्रममा न्यायिक छानविन गरेर दोषी उपर आवश्यक कारबाही गर्न समेत माग गर्नुभयो । पोखरा विमानस्थल २२ अर्ब रुपैयाँमा ठेक्का सम्झौता भएको थियो जहाँ करिब १० अर्ब भन्दा बढी भ्रष्टाचार भएको संसदीय छानविन समितिले दाबी गरेको छ ।
महासचिव गुरुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति र सुशासन दिन आवश्यक भएको बताउँदै यस अभियानमा सबैको साथ आवश्यक भएको बताउनु भयो । आफ्नो पार्टीले सदन चल्दा सदनबाट र अन्य समयमा सडकबाट सरकारलाई सकारात्मक ढंगले खबरदारी गर्दै अघि बढेको जिकिर गर्नुभयो ।

माओवादी केन्द्रको तराई पहाडको अभियानले सिमावर्ती क्षेत्रमा रहेका देखि सहिद परिवार, जनआन्दोलनका घाइते परिवार सहित करिब १ करोड आम जनतासँग समन्वय सहकार्य गर्दै घर दैलोसम्म पुगेको उहाँको भनाई थियो ।
प्रतिक्रिया राख्नुहोस्