तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई चलायमान हुनबाट रोक्ने र बदनाम नगर्न पर्यटन व्यवसायीको माग 

पोखरा । पोखराका पर्यटन व्यवसायीहरूको छाता संस्था पोखरा पर्यटन परिषद्ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई चलायमान हुनबाट रोक्ने र पोखराको बदनाम नगर्न माग गरेको छ । 

गण्डकी प्रदेशको पर्यटकीय र आर्थिक मेरुदण्डको रुपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सम्बन्धमा पछिल्लो समयमा आएका विभिन्न विषयहरू प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको परिषद्ले उल्लेख गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई चलायमान हुनबाट रोक्ने र पोखराको बदनाम नगर्न आग्रह गरेको हो । 

कुनै पनि प्रकारका निमार्ण कार्यमा हुने भ्रष्टाचारमा शुन्य सहनशीलताको नीति लागु हुनु पर्छ भन्नेमा परिषद् दृढ रहेको दाबी गर्दै यदि कहीँ कतै भ्रष्ट्राचार भएको छ भने यथाशीघ्र निष्पक्ष रुपमा छानविन गर्न समेत परिषद्ले सबै पक्षसँग माग गरेको परिषद्का अध्यक्ष तारानाथ पहारीले बताउनुभयो । तर विभिन्न बाहानामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई चलायमान बनाउन बाट रोक्ने र पोखराको बदनाम हुने गरी गरिने गतिविधि तथा क्रियाकलापहरू तत्काल रोक्न आफूहरूले जोडदार माग गरेको उहाँले जनाउनु भयो । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित उडानका साथ पूर्ण रुपमा सञ्चालन गर्न निजी क्षेत्र एक भएर अगाडि बढिरहेको सन्दर्भमा राज्यबाट पनि सोही प्रकारको साथ र सहयोगको अपेक्षा गरिएको अध्यक्ष पहारीले जनाउनु भयो । पोखरा विमानस्थल करिब २३ अर्बको ऋण सहायतामा निर्माण भएको हो । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण गर्न पोखराका पर्यटन व्यवसायीहरूले विगतमा गरेका विभिन्न पहल कदम पश्चात् २०७९ पौष १७ गते निमार्ण सम्पन्न भई विमानस्थल सञ्चालनमा आएको थियो । यद्यपि दुई २ बर्ष २ महिना पछि पोखरा चीनको छेन्दुमा सिचुवान एयरलाइन्सले व्यवसायीक चार्टर्ड उडान सुरु भएको छ भने हिमालयन एयरलाइन्सले तिब्बतको ल्हासा देखि पोखरामा साप्ताहिक रुपमा व्यवसायीक उडान सुरु गरेको छ । 

२०८१ चैत्र ५ गतेका दिन ऐतिहासिक पहिलो व्यवसायीक उडान पोखराबाट १२६ जना यात्रु लिई चीनको छेन्दु अवतरण गरेको र तत् पश्चात् हाल साप्ताहिक रुपमा सिचुवान एअरले  पोखरा (छेन्दु एक उडान र हिमालयन एयरलाइन्सले पोखरा ( ल्हासा साप्ताहिक रुपमा एक उडान गरिरहेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान आकर्षित हुँदै गइरहेको वर्तमान अवस्थालाई छायाँमा पार्ने गरी भइरहेका समग्र पोखराको बदनामी गर्ने किसिमका क्रियाकलाप प्रति परिषद्ले ध्यान गम्भीर रुपमा आकृष्ट भएको जनाएको छ । 

पोखरा विमानस्थल निर्माणमा करिब १० अर्ब रुपैयाँ अनियमितता भएको भनि केही दिन अघि सार्वजनिक गरिएको छ । पोखरा विमानस्थलका सम्बन्धमा छानबिन गरिरहेको संसदीय सार्वजनिक लेखा समितिको उपसमितिले संसद्को सार्वजनिक लेखा समितिमा निष्कर्षसहित प्रतिवेदनको मस्यौदा तयार पेश गरेको हो । प्रतिवेदनमा ११ वटा शीर्षकमा अनियमितता भएको उल्लेख गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन संयोजकत्वको उपसमितिले उक्त  प्रतिवेदन तयार पारेको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button