तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष डा. पुनद्वारा सञ्चारग्रामको म्युजियम अवलोकन 

विराटनगर।   राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष एवं वैज्ञानिक डा. महावीर पुनले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय सञ्चारग्राम विराटनगरमा रहेको म्युजियमको सोमवार अवलोकन गर्नुभएको छ ।  

वीरगञ्ज कृषि औजार कारखाना सञ्चालन गर्ने उद्देश्यले डा. पुन आत्मवृत्तान्त पुस्तक ‘महावीर पुन सम्झना सपना र अविरल यात्रा’ बिक्री अभियानका क्रममा विराटनगरमा आएको अवसरमा  पुनले म्युजियमको अवलोकन गर्नुभएको  हो । 

सञ्चारग्राम विराटनगरमा रहेको म्युजियम अवलोकन गर्दै उहाँले युग परिवर्तन सँगै प्रविधिको कसरी विकास र परिवर्तन भएको रहेछ भन्ने ज्ञान यस म्युजियमको अवलोकन बाट पाइने बताउनुभयो । नेपालको प्रसारण क्षेत्रको इतिहासमा  रेडियो नेपाल एकमात्र विकल्प भएको  त्यो अवस्था बाट अहिलेको इन्टरनेटको यो अवस्था सम्म आइपुग्न खोज,अनुसन्धानले मात्र सम्भव भएको भन्दै उहाँले राज्यले नवप्रवर्द्धनमा बजेट छुट्टाउन कन्जुस्याइँ गर्न नहुने बताउनुभयो । 

 त्यो बेलाको प्रविधिका क्षेत्रमा भएका सामानहरू यसरी संरक्षण गरेर राख्नु धरै राम्रो काम रहेको बताउँदै सबैलाई अवलोकनको लागि आउन आग्रह गर्नुभयो । अवलोकनको क्रममा रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय सञ्चारग्राम विराटनगरका कार्यालय प्रमुख  सूर्यनारायण लाल कर्ण,मुख्य सम्पादक तिलकराम चौधरी, कार्यक्रम अधिकृत नयराज नेपाल, प्राविधिकहरू भिमबहादुर मण्डल,ओमप्रकाश यादव लगायतको म्युजियम तथा सञ्चार ग्राममा भएका स्टुडियो,सभाकक्ष लगायत अन्य  विषयको बारेमा जानकारी गराउनुभएको थियो । 

 पुस्तक बिक्रीबाट हालसम्म १० करोड रुपैयाँ सङ्कलन भइसकेको पुनको भनाइ थियो । जसरी पनि कृषि औजार कारखाना सञ्चालन गरेरै छाड्ने पुनले बताउनुभयो  । राज्यले सहयोग नगरे पनि जनताको सहयोगबाट अबको दुई वर्षभित्र कृषकलाई आवश्यक पर्ने कृषि औजारहरू उत्पादन गर्ने उहाँले जानकारी दिनुभयो । कारखानाबाट धान, गहुँ, तरकारी रोप्ने, गोड्नेलगायतका औजार उत्पादन गरिनेछ । कारखानाबाट १५ किसिमको औजार नमुना बनाएर परीक्षण भइरहेको  पुनको भनाई थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button