नेकपा स्थापना दिवसमा विशेष कार्यक्रम गर्दै एमाले
काठमाडौं । नेकपा एमालेले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना भएको ७६ औँ वर्षगाँठ आज विशेष कार्यक्रमसहित मनाउँदैछ।
एमालेका महासचिव शंकर पोखरेलका अनुसार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा दिउँसो विशेष कार्यक्रम आयोजना गरिनेछ। कार्यक्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे सम्बोधन गर्नुहुनेछ ।
कार्यक्रममा नेपाली कम्युनिष्ट आन्दोलनको विकास र विस्तारमा उल्लेखनीय योगदान दिएका सात जना विशिष्ट व्यक्तित्वलाई ‘कम्युनिष्ट योद्धा’को रूपमा सम्मान गरिने पोखरेलले जानकारी दिनुभयो। सम्मान प्राप्त गर्नेमा लालबहादुर विश्वकर्मा (कञ्चनपुर), रत्न शर्मा न्यौपाने (मरणोपरान्त), बाचस्पति देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौं), सत्यनारायण मण्डल (सप्तरी), शोभाराम बस्नेत (दाङ) र हरिचरण शिवाकोटी (झापा) हुनुहुन्छ।
सोही अवसरमा पार्टी केन्द्रबाट प्रकाशित ‘शेल्टर’ नामक पुस्तकको विमोचन पनि गरिनेछ। उक्त पुस्तकमा तत्कालीन नेकपा (माले) तथा कोर्डिनेसन केन्द्र निर्माणका क्रममा संलग्न ३४ जना नेता तथा कार्यकर्ताका संस्मरण समेटिएको छ।
यस्तै, एमालेले वैशाख ११ गते ‘युथ सेलिब्रेशन’ भव्य रूपमा मनाउने निर्णय पनि गरेको छ। पार्टीको निर्णयमा भनिएको छ, ‘राज्यशक्तिको स्रोत जनता हो, र राजकीय सत्ता जनतामै निहित छ भन्ने उद्घोष गरिएको ऐतिहासिक दिन — लोकतान्त्रिक गणतन्त्रको विजारोपण भएको दिनको रूपमा वैशाख ११ गते ‘युथ सेलिब्रेशन’ व्यापक युवाको सहभागितामा भव्य रूपमा मनाइनेछ।’
प्रतिक्रिया राख्नुहोस्