पर्यटक दौडमा १८ देशका ५५ धावक सहभागी

पोखरा । पोखरामा जारी २० औँ फेवा नव वर्ष महोत्सव २०८२ को दोस्रो दिन आइतबार लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा बेलायतका साम प्रथम हुनु भएको छ । प्रतियोगितामा बेलायतकै लियो दोस्रो रसियाका डेनिस तेस्रो र अमेरिकाका युसेफले सान्त्वना स्थान हाँसिल गर्नुभयो ।
महिला तर्फको छुट्टै इभेण्टमा फ्रान्सकी कोलिन प्रथम हुनुभयो । फ्रान्सकी एलिजा द्वितीय हुनुभयो भने रसियाकी मारिया तेस्रो हुनुभयो । चीनकी फ्लोराले सान्त्वना स्थान हाँसिल गर्नुभयो । प्रतियोगितामा प्रथम हुनेले हाइ ग्राउण्ड एड्भेञ्चरबाट प्रदान गरिने बञ्जी जम्पको सुविधा प्राप्त गर्नु भयो । विजयी खेलाडीहरूलाई मायाको चिनो, प्रमाणपत्र र विभिन्न गिफ्ट गिफ्ट ह्याम्पर प्राप्त गर्नु भयो ।
द्वितीय हुनेले हाइग्राउण्डबाट प्रदान गरिने एटिभी सेवा प्राप्त गर्नु भयो भने एटिभी चार पाङ्ग्रे विशेष खालको सवारीमा गरिने सहासिक यात्रा हो । यसैगरी सिइङ हेण्डबाट ५० प्रतिशत शुल्क छुट सहितको मसाज र व्यञ्जनमा खाना सुविधा पनि उपलब्ध गराइएको थियो । तृतीय हुनेले हाइग्राउण्डबाट जिपलाइन सेवा, सिइङ हेण्डबाट २५ प्रतिशत शुल्क छुट सहितको मसाज सेवा र व्यञ्जनमा खानाको कुपन प्राप्त गर्नुभयो । सान्त्वना स्थान प्राप्त गर्नेले हाइग्राउण्डबाट स्वीङ सेवा लिने अवसर प्राप्त गर्नुभयो ।
खहरे र अम्बोट बिचको दुई किलोमिटर दुरीमा रन फर फन नाम दिएर आयोजित दौडमा १८ देशका कूल ५५ पर्यटक सहभागी भएको प्रतियोगिता संयोजक हेमराज पहारीले जानकारी दिनुभयो । संघका अध्यक्ष लक्ष्मण सुवेदीले सहभागी पर्यटकलाई धन्यवाद दिँदै प्रतियोगिताले पोखराको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
महोत्सव अन्तर्गत शनिवारको तालिकामा संस्थागत ब्याडमिन्टन प्रतियोगिता, दोहोरी गीतका कार्यक्रम, लाइभ व्याण्ड, नृत्य, डिजे तथा विविध सांस्कृतिक कार्यक्रम रहेका थिए । महोत्सवको सह प्रायोजक वरुण वेभरेज लि.को पेप्सी, प्रायोजकहरूमा बन्दीपुर केबलकार लि. फोन पे, अन्नपूर्ण केबलकार लि, टोकला चिया रहेका छन् । इन्स्योरेन्स पार्टनरमा प्रभु इन्स्योरेन्स कम्पनी र प्रवर्द्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, पोखरा महानगरपालिकाका रहेको संघका महासचिव राजेन्द्र ढकालले बताउनु भयो ।
नेपाली नयाँ वर्षको अवसरमा आयोजित महोत्सवको अवसरमा पोखराका होटल अकुपेन्सि हाल ८० प्रतिशत भन्दा बढी रहेको संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनु भयो । उक्त महोत्सवले पोखरा महानगरले सुरु गरेको पोखरा भ्रमण बर्ष २०२५ को अभियान २० लाख पर्यटक भित्राउने अभियानलाई सहयोग गर्ने उहाँले दाबी गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्