चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका
काठमाडौँ । महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका पीडक ९१ प्रतिशतभन्दा बढी चिनजानका व्यक्ति हुने गरेका छन् ।
नेपाल प्रहरीमा आर्थिक वर्ष २०८१÷८२ फागुन महिनासम्म दुई हजार ४७ मुद्दा दर्ता भएका छन् ।
नातासम्बन्धीको आधारमा अभियुक्तको विश्लेषणले महिला तथा बालबालिका विरुद्ध हुने यौनजन्य हिंसाका पीडक चिनजानका बढी हुने गरेका पाइएको प्रहरीले जनाएको छ । त्यसमा ९१ दशमलव १६ प्रतिशत चिनजानका अभियुक्त रहेका छन् ।
प्रहरीमा दर्ता भएका दुई हजार ४७ मुद्दामा दुई हजार २६३ अभियुक्त रहेका प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिनुभयो । घर मालिक, केटा साथीलगायत सामान्य चिनजानका एक हजार २०६, छिमेकी ५७३ र पारिवारिक नाताका २६५ अभियुक्त रहेका छन् । यस्तै, अपरिचित २०० र शिक्षक १९ जना अभियुक्त छन् ।
पारिवारिक नाताका अभियुक्तमा पीडितको बुवा, श्रीमान्, काका, मामा, ठूलोबुवा, दाजुभाइ, मामाको छोरा, हजुरबुबा, भिनाजु, भतिज र छोरा, देवर, जेठाजु, ससुरा र ससुरा पर्ने सबै खाले सम्बन्धका अभियुक्त रहेका प्रहरीको तथ्याङ्कले देखाउँछ ।
यस्ता अपराध गर्ने व्यक्तिलाई निरुत्साहित गर्न र कानुनी दायरामा ल्याउन तत्काल नजिकको प्रहरी कार्यालयमा उजुरी दिन नेपाल प्रहरीले सबैलाई आग्रह गरेको छ ।
प्रहरी नायब महानिरीक्षक आचार्यले महिला तथा बालबालिकामा हुने यौनजन्य हिंसा न्यूनीकरणका लागि सानैदेखि बालबालिकालाई यौन हिंसासम्बन्धी शिक्षा दिएर सचेत गराउनु अत्यावश्यक भएको बताउनुभयो । यौनजन्य हिंसा न्यूनीकरणका लागि परिवार, विद्यालय, समाज सबै सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
“बालबालिकालाई सकेसम्म परिवारको निगरानीमा राख्नुपर्छ । उनीहरूलाई ‘ब्याड टच’ र ‘गुड टच’ (राम्रो र नराम्रो छुवाइ)का बारेमा बुझाउनुपर्दछ । बालबालिकामा यो नराम्रो हो, गलत हो भन्ने थाहा हुनुपर्छ”, उहाँले भन्नुभयो, “अपराध गर्ने व्यक्तिलाई निरुत्साहित गर्न र कानुनी दायरामा ल्याउन सबैको सहयोग आवश्यक छ ।”
प्रतिक्रिया राख्नुहोस्