तपाईँ सुन्दै हुनुहुन्छः

ओझेलमा कवा मष्टो

मुगु। मुगु जिल्लाको खत्याड गाउँपालिका–५ स्थित कवा गाउँमा रहेको धार्मिक र ऐतिहासिक महत्वको कवा दारे मष्टो ओझेलमा परेको छ।

कवा गाउँमा रहेको मष्टो थान सरोकारवालाहरूको उदासिनताका कारण ओझेलमा पर्दै गएको हो। पुरातात्तिक महत्व भएका पुराना संरचनाहरू भत्काएर सिमेन्टले टालटुल गरएिका छन्, जसले ऐतिहासिक र पुरातात्तिक अस्थित्वलाई मेटाएको छ।

कवा मष्टो थानमा प्रत्येक वर्ष तीन पटक विशेष पूजा र मेला लाग्ने गर्दछ। साउन, माघ र कात्तिक महिनामा गरिने विशेष पूजाका लागि मध्य र सुदूरपश्चिमका विभिन्न जिल्लाबाट भक्तजनहरू आउने गरेका छन्। भक्तजनहरूले भाकल गरेर आफ्नो मनोकामना पूरा भएपछि घोडा, भेडा, नगद, सुनजस्ता सामग्री चढाउने परम्परा पनि रहेको छ।

स्थानीय समाजसेवी धौला रोकायाका अनुसार, अन्यायमा परेकाहरूले न्याय पाउने र मष्टो देवता बाट भाकल गरेका कुराहरू पूरा हुने विश्वासका कारण भक्तजनहरूको भीड लाग्ने गरेको छ। उहाँका अनुसार, ‘यस मष्टो थानमा मनले चिताएको पूरा हुने विश्वासले दूरदराजका श्रद्धालुहरू यहाँ आउने गरेका छन् ।’

कवा गाउँका स्थानीय र इन्जिनियर धनसिंह रोकायाका यो थान बाहिरबाट सामान्य देखिए पनि यसको शक्ति र प्रभाव अत्यन्तै ठूलो रहेको बताउनुहुन्छ। उहाँले भन्नुभयो, ‘अहिले थानको परम्परागत संरचना बिगारे पनि, यस मन्दिरलाई पुनः सुधार गरेर पुरानै शैलीमा निर्माण गर्न पहल गर्ने योजनामा छु।’

धार्मिक र ऐतिहासिक महत्व बोकेको यस स्थलको परम्परालाई पुनः प्रवर्द्धन गर्दै प्रचार, प्रसारका प्रयासहरु गर्न आवश्यक देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button