तपाईँ सुन्दै हुनुहुन्छः

काँकरभिट्टा नाकाबाट करिब १२ अर्ब ७४ करोडको पेट्रोलियम पदार्थको आयात

भद्रपुर (झापा) । चालु आर्थिक वर्षको आठ महिनामा पूर्वी नाका काँकडभिट्टाबाट रू १२ अर्ब ७४ करोड १५ लाखभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । 

उक्त मूल्य बराबरको पेट्रोल, डिजेल, एलपि ग्यास, एटिएफ र मट्टितेल आयात भएको हो । 

गत आवको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा रू ६४ करोड १७ लाख ५९ हजारले पेट्रोलियम पदार्थको आयातमा कमी आएको छ । गत आवको आठ महिनामा रू १३ अर्ब ३८ करोड ३३ लाखको पेट्रोलियम पदार्थ आयात भएको थियो । 

मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले पेट्रोलियम पदार्थमा आयात घटे पनि राजस्व बढेको बताउनुभयो । 

कार्यालयको तथ्याङ्क अनुसार चालु आवको आठ महिनामा पेट्रोलियम पदार्थको आयातबाट रू छ अर्ब १२ करोड ४२ लाख राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा रू पाँच अर्ब ८० करोड १८ लाख राजस्व सङ्कलन भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button