गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण क्षमतामा सञ्चालन हुन्छ : अर्थमन्त्री पौडेल
रुपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण क्षमतामा सञ्चालन हुने उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दाबी गर्नुभएको छ ।
कान्तिपुर मिडिया ग्रुपले आज भैरहवामा आयोजना गरेको ‘लुम्बिनीको सामर्थ्य’ विषयक अन्तरक्रिया कार्यक्रममा मुख्य वक्ताका रुपमा बोल्दै अर्थमन्त्री पौडेलले निकट भविष्यमै विमानस्थल पूर्णरुपमा सञ्चालन गर्नका लागि महत्त्वपूर्ण निर्णयहरू भएको बताउनुभएको हो ।

‘सुरुमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चाहिन्छ भन्नेमै विवाद थियो, बन्दै गर्दा पनि पूरा हुन सक्दैन कि भन्ने थियो, सम्पन्न पनि गर्यौँ र अहिले पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ,’ उहाँले भन्नुभयो, ‘अहिले फेरि विमानस्थल पूर्णरुपमा सञ्चालन हुन सक्दैन, लगानी खेर गयो भनिएको छ । तर यो सत्य होइन, अब छिट्टै पूर्ण क्षमतामा सञ्चालन भएर देखाउँछौँ ।’ अर्थमन्त्री पौडेलले बताउनुभयो ।
विमानस्थलको अहिलेको टर्मिनल सानो छ, त्यसलाई आन्तरिक टर्मिनलका रुपमा परिणत गरेर अन्तर्राष्ट्रिय उडानका लागि अर्को टर्मिनल बनाउने छौँ । त्यसो भएमा यो विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि नेपालकै सबैभन्दा ठूलो, पर्याप्त पूर्वाधारसहितको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल हुने उहाँले दाबी गर्नुभयो ।
अब विमानस्थल चल्छ कि चल्दैन भन्ने प्रश्न पुरानो भइसक्यो, नयाँ विमानस्थल सञ्चालनमा आउँदा जहिले पनि यो प्रश्न आउँदो रहेछ, यहाँ पनि त्यही भएको हो,’ उहाँले भन्नुभयो, ‘विमानस्थल बनाउनका लागि मात्र नभएर चलाउनका लागि बनाइएकाले छिट्टै ‘फूल फ्लेज’मा सञ्चालन हुन्छ ।
विमानस्थललाई कसरी पूर्ण क्षमतामा चलाउन सकिन्छ भनेरै केन्द्रमा सम्बन्धित सरोकारवालाहरू र निकायहरूबिच पटक पटक बैठक गरेका छौँ । ती बैठकहरूमा महत्त्वपूर्ण निर्णयहरू भएका छन् । ’ तीमध्ये केही निर्णय कार्यान्वयनमा आइसके भने केही कार्यान्वयनको चरणमा रहेको उहाँले बताउनुभयो।
यहाँबाट पूर्णरुपमा अन्तर्राष्ट्रिय उडानका लागि अन्तर्राष्ट्रिय एयरलाइन्सहरूलाई विशेष छुट सुविधाको प्याकेज ल्याउँछौ । त्यसका लागि विभिन्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूसँग छलफल भइरहेको छ,’ उहाँले बन्नुभयो, ‘अहिले सातामा १५ उडान गर्ने अवस्थामा आएका छौँ । अझै आलोचना हुँदै गरोस्, हामी छिट्टै पूर्ण क्षमतामा सञ्चालन भएर देखाउँछौँ ।’
प्रतिक्रिया राख्नुहोस्