मधेश प्रदेशद्वारा सुदूरपश्चिम प्रदेश ४४ रनले पराजित
रुपन्देही । मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ४४ रनले पराजित गरेको छ । रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा मधेशका विशाल पटेलले ६ विकेट लिएपछि सुदूरपश्चिम ४४ रनले पराजित भएको हो । टस जितेर पहिला ब्याटिङ गरेको मधेशले ४२.३ ओभरमा सबै विकेट गुमाएर १ सय २ रनको सामान्य योगफल खडा गरेको थियो ।

मधेशका प्रदीप पासवानले नटआउट २३, पवन सर्राफले १९, दीपेश दास र रुपेश सिंहले समान १२–१२ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । कप्तान अनिल शाह रनको खाता नखोल्दै आउट भए ।
सुदूरपश्चिमका हेमन्त धामी र शेर मल्लले मधेशको ब्याटिङ लाइनलाई ध्वस्त पारे । शेरले १० ओभरमा ६ मेडनसहित ५ रन दिएर ४ विकेट लिए । हेमन्तले ५.३ ओभरमा १ मेडन राखेर ११ रन खर्चँदै ४ विकेट झारे । नारायण जोशी र विकास अग्रीले समान १–१ विकेट लिए ।
जवाफमा १ सय ३ रनको सामान्य लक्ष्य पछ्याएको सुदूरपश्चिम २९ ओभरमा ५८ रनमा अलआउट भयो । सुदूरपश्चिमका लागि तल्लोक्रमका ब्याटर हेमन्त धामीले ३३ बलमा सर्वाधिक १९ रन जोडे । अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । टोलीका ५ ब्याटरले रनको खाता नै खोल्न सकेनन् ।
सुदूरपश्चिमलाई सस्तैमा समेट्न मधेशका विशालले ५ ओभरमा १७ रन खर्चिएर ६ विकेट लिए । प्रदीप पासवानले ३ र रुपेश सिंहले १ विकेट हात पारे । जितसँगै मधेशले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । मधेशको ८ खेलबाट ६ अङ्क भएको छ । सुदूरपश्चिमले ९ खेलमा ६ हारका साथ प्रधानमन्त्री कपको यात्रा टुङ्गिएको छ ।
प्रतिक्रिया राख्नुहोस्