तपाईँ सुन्दै हुनुहुन्छः

आइएमई ग्रुप र आइएक्सआइ कर्पको लगानीमा काठमाडौँ टेक्निकल स्कुल सञ्चालन

काठमाडौँ । आइएमई ग्रुप र आइएक्सआइ कर्पले संयुक्त रुपमा काठमाडौँ टेक्निकल स्कुल (केटिएस) सञ्चालनमा ल्याएका छन् । रोजगार बजारमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले उक्त स्कुल सञ्चालन गरिएको हो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले धुम्बाराहीमा आज आयोजित एक समारोहबीच सो स्कुलको शुभारम्भ गर्नुभयो । सो अवसरमा उहाँले सीप, रोजगारी, उद्यमशीलता र पुँजीको संयोजनले मात्र बेरोजगारी तथा गरिबीको समस्या समाधान गर्न सकिने भएकाले सरकारले निजी क्षेत्रसँगको साझेदारीलाई प्राथमिकतामा राखेको बताउनुभयो । 

नेपाल उद्योग वाणिज्य महासङ्घ तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सो स्कुल सञ्चालनसँगै अब आइएमई ग्रुप प्राविधिक जनशक्ति उत्पादनका क्षेत्रमा अगाडि बढेको बताउनुभयो । उहाँले सो स्कुलले हजारौँ युवालाई रोजगार वा स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

काठमाडौँ टेक्निकल स्कुलका अध्यक्ष मनोज पौडेलले आगामी १० वर्षमा एक लाखभन्दा बढी दक्ष जनशक्ति उत्पादन गर्ने सरकारको लक्ष्यमा स्कुलले सहयोग गर्ने बताउनुभयो । उहाँले स्कुलले युवालाई विश्वस्तरीय तालीम तथा शिक्षा प्रदान गर्ने लक्ष्य राखेको उल्लेख गर्नुभयो । केटिएसले आफ्ना विद्यार्थीलाई विश्व स्तरमै प्रतिस्पर्धा गर्न सक्षम बनाउन स्थानीय तथा राष्ट्रियस्तरका उद्योग व्यवसायका साथै अन्तर्राष्ट्रिय साझेदारसँग पनि सहकार्य गर्ने अध्यक्ष पौडेलको भनाइ थियो । 

त्यस अवसरमा सरकार, निजी क्षेत्र, विदेशी कूटनीतिक नियोग तथा दातृ निकायका प्रतिनिधि र सरोकारवालाको उपस्थिति थियो । स्कुलले हस्पिटालिटी, कुलनिरी आर्टस, केयर गिभिङ, बारिस्ता, बार टेन्डिङ लगायत रोजगारमूलक तथा स्वरोजगारमूलक विधामा तालिम सञ्चालन गर्नेछ । स्कुलले आगामी एक दशकमा एक लाखभन्दा बढी दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button