तपाईँ सुन्दै हुनुहुन्छः

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान विश्वविद्यालय विधेयकमाथि दफावार छलफल

काठमाडौँ । सुदूरपश्चिमको गेटामा स्थापना हुन लागेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान विश्वविद्यालयमा चिकित्सा शिक्षा अध्ययनमा सर्वोत्कृष्ट हुने विद्यार्थीलाई सोही विश्वविद्यालयमा प्राध्यापक गराउनुपर्नेमा प्रतिनिधिसभाका सांसदहरुले जोड दिनुभएको छ । 

प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा दफावार छलफलमा रहेको  सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान विश्वविद्यालय विधेयकमा गोल्ड मेडलिस्ट विद्यार्थीलाई विश्वविद्यालयमा अवसर दिने प्रावधान समेट्दा उत्कृष्ट र सक्षम प्रतिभा विदेश पलाएन नहुने सांसदहरुले बताउनुभयो । 

छलफलमा सांसदहरु छविलाल विश्वकर्मा, देवेन्द्र पौडेल, चन्द्र भण्डारी, रेखा शर्मा, तोसिमा कार्की  कालुराम राई र दीपा शर्मा लगायतले विश्वविद्यालयको प्राध्यापक र कर्मचारी नियुक्तिका लागि एउटै समिति रहनुपर्ने प्रस्ताव गर्नुभयो ।

उहाँहरूले पदपूर्ति समितिमा विषय विज्ञका साथै स्थानीय जनप्रतिनिधिलाई पनि समावेश गर्ने गरी संशोधन प्रस्ताव राख्नुभयो ।

बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालय आफैँले पनि नियमावली बनाएर विधेयक कार्यान्वयनमा लैजान सक्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button