बुद्ध सर्किट जोड्न मोनो रेल सञ्चालनको सम्भावना छ : मुख्यमन्त्री आचार्य
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्ध सर्किटलाई आपसमा जोड्न मोनो रेल सञ्चालन गर्ने सम्भावना रहेको बताउनुभएको छ ।

प्रतिनिधि सभा सदस्य तथा नेपालका प्रतिष्ठित उद्योगी व्यवसायी विनोद चौधरीसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा भएको छलफलमा मुख्यमन्त्री आचार्यले कपिलवस्तु, रुपन्देही र नवलपरासीलाई बुद्ध सर्किटमार्फत जोड्न मोनो रेल सञ्चालन गर्न सकिने आधार रहेको बताउनुभएको हो । प्रदेश सरकार निजी क्षेत्रसँग साझेदारी गर्दै अगाडि बढ्न सक्ने उहाँको भनाइ छ ।
प्रदेश सरकारले मोनो रेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने र निजी क्षेत्रलाई आकर्षित गर्ने योजना बनाएको समेत जानकारी दिनुभयो ।
मुख्यमन्त्री आचार्यले गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई ब्रान्डिङ गर्ने तथा विश्वभरका बौद्ध धर्मावलम्बीहरूको पहिलो गन्तव्य स्थलका रूपमा विकास गर्न प्रदेश सरकारले पहल गरिरहेको बताउनुभयो । पर्यटन बोर्डमार्फत लुम्बिनीको समग्र विकासलाई जोडेर व्यापक योजना निर्माण गरिने पनि उहाँले उल्लेख गर्नुभयो ।
छलफलका क्रममा प्रतिनिधि सभा सदस्य चौधरीले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले स्वरोजगार प्रवर्द्धन, स्वास्थ्य सेवा सुधार, सामाजिक सेवा, पूर्वाधार निर्माण तथा लुम्बिनीको पर्यटन विकासलाई प्राथमिकता दिने गरी योजना समेट्न आग्रह गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्