तपाईँ सुन्दै हुनुहुन्छः

प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बस्दै, संक्रमणकालीन न्याय मुख्य एजेन्डा

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दै छ, जसमा प्रमुख एजेन्डा संक्रमणकालीन न्याय हुने बताइएको छ। राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादीहरूले सक्रियता बढाएपछि प्रमुख दलका नेताहरूको संयुक्त बैठक पहिलोपटक बस्न लागेको हो।

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा अपराह्न ४ बजे बैठक बस्नेछ। प्रधानमन्त्री केपी शर्मा ओलीका संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेलले बैठकको मुख्य एजेन्डा संक्रमणकालीन न्याय रहेको बताउनुभएकाे छ।

बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्ति प्रक्रिया लगायतका विषयमा छलफल गरिने तयारी छ। यसअघि यी दुवै आयोगमा पदाधिकारी नियुक्तिका लागि सर्च कमिटी गठन भएपनि, उक्त कमिटीले सिफारिस नगरी म्याद गुजारेको थियो। पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको समितिले आवेदन आह्वान गर्ने, सूची बनाउने र आवेदकहरूसँग अन्तर्वार्ता गर्ने लगायतका प्रक्रिया पूरा गरेपनि, नियुक्तिका लागि नाम सिफारिस गर्न सकेका थिएनन्।

आजको बैठकमा राजावादीहरूको बढ्दो गतिविधि र गणतन्त्रवादी दलहरूको भूमिकाबारे पनि छलफल हुने बताइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button