तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कप : लुम्बिनी विरुद्ध आर्मीको फराकिलो जित 

रुपन्देही । जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी क्लबले जित निकालेका छन् । त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेश विरुद्ध १३१ रनको फराकिलो जित निकालेको छ । सशस्त्र प्रहरी बलले गण्डकी प्रदेशलाई ३१ रनले पराजित गरेको छ । 

आफ्नै गृह मैदान सिद्धार्थ क्रिकेट रङ्गशालामा २४४ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश २७.१ ओभरमा सबै विकेट गुमाउँदै ११२ रन मात्र बनाउन सक्यो । लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ३७ रन बनाए । 

यस अघि टस जितेर ब्याटिङ गरेको आर्मीले बसीर अहमदको अर्ध शतकको सहयोगमा ४९.२ ओभरमा अलआउट हुँदै २४३ रन बनाएको थियो । बसीर अहमदले १०४ बलमा ६ चौकाको सहयोगमा ८६ रन बनाए ।  

बलिङमा लुम्बिनीका अजय चौहानले ४ विकेट लिँदा कृष्ण कार्की, निर्मल गुरुङ, रमेश कुर्मी, विप्रसन केसी, नर सार्की र देव खनालले समान १/१ विकेट लिए । 

८६ रन बनाएर लुम्बिनीको एक विकेट समेत लिएका त्रिभुवन आर्मी क्लबका बसीर अहमद म्यान अफ द म्याच घोषित भए । 

यससँगै ८ खेल खेलिसकेको लुम्बिनी प्रदेश ४ मा जित र ४ मा हारसँगै ८ अङ्क प्राप्त गरेको छ भने ८ खेल नै खेलेको आर्मी ७ मा जित र १ मा हार गरि १४ अङ्क सहित अङ्कतालिकाको दोस्रो स्थानमै कायम रहेको छ । 

आइतबार नै सम्पन्न अर्को खेलमा सशस्त्र प्रहरीले क्लबले गण्डकी प्रदेशलाई ३१ रनले पराजित गरेको छ । २५८ रनको लक्ष्य पछ्याएको गण्डकीको टोली ५० ओभर पुरा खेल्दै ८ विकेटको क्षतिमा २२७ रन मात्र बनाउन सक्यो । गण्डकीका लागि अर्जुन कुमालले ३९ रन बनाए भने दिनेश बुढामगरले ३४ रन, सन्दिप अर्यालले अविजित २४ रन बनाए  

यस अघि रूपन्देहीकै एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ गरेको सशस्त्रले २५८ रन बनाएको थियो । 

बलिङमा गण्डकीका सन्दिप पराजुली र सन्दिप अर्यालले समान ३र३ विकेट बाँड्दा कमल परियारले २ र चन्द्रकान्त पौडेलले १ विकेट हासिल गरे । 

८० रन बनाउनुभएका सशस्त्रका आसिफ शेख खेलको म्यान अफ म्याच चुनिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button