जानकीमा ४०० बढीको निःशुल्क स्वास्थ्य परीक्षण
नेपालगञ्ज । बाँकेको जानकीमा ४०० जना भन्दा बढीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जानकी गाउँपालिका वडा नम्बर २ बेलभार स्वास्थ्य चौकीमा आज आयोजित वृहत् स्वास्थ्य शिविरमा ४०० भन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको बेलभार स्वास्थ्य चौकीकी सिनियर अहेब उषा वाग्लेले जानकारी दिनुभयो ।

रोट्रेक्ट क्लब अफ नेपालगञ्ज मेडिकल कलेज बाँके र जानकी गाउँपालिका वडा नम्बर २ बेलभारको आयोजनामा एक दिने शिविर कार्यक्रम सञ्चालन गरिएको हो । बेलभार स्वास्थ्य चौकीमा आयोजित शिविरमा बाल रोग, स्त्री रोग, छाती रोग र सामान्य चिकित्सा सम्बन्धि विशेषज्ञ सेवा प्रदान गरिएको थियो । शिविरमा सम्पूर्ण परामर्श तथा सचेतना सेवा एवम् औषधि समेत निःशुल्क वितरण गरिएको थियो ।
गरिब, विपन्न र सीमान्तकृत समुदायलाई लक्षित गरी शिविर सञ्चालन गरिएको वडा नम्बर २ का वडा अध्यक्ष चन्द्रिका प्रसाद गुप्ताले बताउनुभयो । घर नजिकै निःशुल्क औषधि उपचार सेवा लिन पाउँदा आफूहरू खुशी भएको सेवाग्राहीहरूले बताए । हरेक महिना यस्तो सेवा वडाबाट पाएमा झनै राम्रो हुने उनीहरूको भनाई छ । स्थानीय ज्ञानमती लोनिया र जय कुमारी खड्काले निःशुल्क स्वास्थ्य सेवा र परामर्श पाउँदा खुसी लागेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्