जनतामा देखिएको निरास हटाउन सरकार र प्रमुख राजनीतिक दलहरू गम्भीर बन्नु पर्नेः नेता शर्मा

ताप्लेजुङ । नेकपा(माओवादी केन्द्र)का उपमहासचिव तथा पूर्वमन्त्री जर्नादन शर्माले कानुन निर्माण र कार्यान्वयनमा देखिएका समस्याका कारण जनतामा देखिएको निराशालाई सरकार र प्रमुख राजनीतिक दलहरू गम्भीर बन्नु पर्ने बताउनुभएको छ ।
प्रेस सेन्टर ताप्लेजुङले फुङलिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै शर्माले जनताको चाहना अनुसार काम हुन नसक्दा जनतामा निराशा वृद्धि हुँदै गएको छ, जनताको असन्तुष्टिको सम्बोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा सबै एक जुट हुनुपर्ने बताउनुभयो ।
नेता शर्माले नेपाल विद्युत् प्राधिकरणका महानिर्देशक कुलमान घिसिङप्रति सरकार गरेको व्यवहारप्रति असन्तुष्टि जनाउनु हुँदै, यो लोकतान्त्रिक संस्कार नभएको समेत बताउनुभयो ।
अव आउँदो पार्टीको महाधिवेशनबाट युवा पुस्ताले नेतृत्व लिने बताउनुभयो । अर्को प्रसङ्गमा नेता शर्माले ताप्लेजुङको पाथीभरा मुक्कुमलुङ क्षेत्रको विवाद वार्ता र संवाद मार्फत समाधान गरेर अघि बढ्नुको विकल्प नरहेको समेत बताउनुभयो ।
नेता शर्मा जिल्लाको फक्ताङलुङ गाउँपालिकाको नेकपा माओवादीको पालिका अधिवेशनका क्रममा ताप्लेजुङ आउनुभएको हो ।
प्रतिक्रिया राख्नुहोस्