विगतमा काँग्रेस र एमालेसँग गठबन्धन गर्दा माओवादी कमजोर भयो : अध्यक्ष प्रचण्ड

वीरगंज । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी हिजो कहिले काँग्रेस त कहिले एमाले सँग गठबन्धन गरेर कमजोर भएको बताउँदै अब कसैको बैसाखी नटेक्ने दाबी गर्नुभएको छ ।
पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी तराई मधेश जागरण अभियानको क्रममा बाराको कलैयामा आज आयोजित सभालाई सम्बोधन गर्दै उहाँले विगतमा गठबन्धन गर्दा एमाले/काँग्रेसलाई फाइदा भएको र माओवादीलाई घाटा भएको प्रमाण अहिलेको स्वतन्त्र विद्यार्थी युनियनको चुनावले देखाएको बताउनुभयो ।
अध्यक्ष प्रचण्डले झापाबाट बारा, पर्सासम्म आइपुग्दा बुद्धिजीवी, किसान, मजदुर, मधेसी, दलित, आदिवासीलगायत सम्पूर्ण जनतामा नयाँ आशाको सञ्चार छाएको बताउँदै हाल मुलुकमा विद्यमान भ्रष्टाचार लगायत बेथिति अन्त्यका लागि सबै तह र तप्काका जनता एकजुट भएर खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले मुलुकको सामाजिक, आर्थिक, राजनीतिक रूपान्तरणमा नागरिक समाजको भूमिका समेत महत्त्वपूर्ण रहेको बताउनुभयो ।

सो अवसरमा आज अध्यक्ष प्रचण्ड सहितको टोलीले बाराका सहिद परिवारसित भेटघाट, व्यापारी, उद्योगी, व्यवसायी किसान, मजदुरसित अन्तरक्रिया गरेको थियो ।
यसैबीच पूर्वप्रधानमन्त्री प्रचण्डले ऐतिहासिक तथा पुरातात्त्विक महत्व बोकेको सिम्रौनगढ दरबारलाई विश्व सम्पदा सूचीमा राख्न र सिम्रौनगढ/मटिअर्वा छोटी भन्सारको स्तरोन्नतिको लागि संसद्देखि सडकसम्म आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उक्त अभियानअन्तर्गत बारामा आयोजित कार्यक्रम सम्पन्न गरी आज साँझ अध्यक्ष दाहालसहित पार्टीका शीर्ष नेता वीरगंज आईपुग्नु भएको छ ।

वीरगंज आइपुगेको टोलीलाई नृसिंह मा.बी. परिसरमा आयोजित कार्यक्रममा भव्य स्वागत गरिएको छ ।
भोलि बिहानै देखि साँझ सम्म पर्सा जिल्लामा रहनु हुने अध्यक्ष प्रचण्ड सहितको टोलीले नागरिक समाज, उद्योगी, व्यवसायीसँग अन्तर्क्रिया, कोणसभा सम्पन्न गरी साँझ ठोरी हुँदै चितवनको माडी पुग्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्