प्रतिनिधिसभा बैठक: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सासंदहरुले आर्थिक सुधार, रोजगारीको सिर्जना, भौतिक पूर्वाधारको विकास, सडक पूर्वाधारको निर्माण र मर्मत लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसदहरुले धुलिखेल–सागा बनेपा सडक निर्माणको काम ढिलाइ हुँदा समस्या उत्पन्न भइरहेकाले समयमा नै निर्माणका लागि पहल गर्नुपर्ने, हुलाकी लगायतका विभिन्न राजमार्ग निर्माणको काम प्रभावकारी बनाइनुपर्ने लगायतका विषयमा ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले शुख्खायाम शुरु भएसँगै काठमाडौँ र तराईका विभिन्न ठाउँमा खानेपानीको समस्या उत्पन्न भएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै समयमा नै समस्या समाधान गर्ने गरी काम गर्न आग्रह गर्नुभयो ।
सांसदहरुले शिक्षक महासङ्घ विभिन्न माग राख्दै आन्दोलनमा रहेकाले उनीहरूको माग र समस्या सम्बोधनका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले बाख्रा पालक कृषकहरूले आफ्नो उत्पादनको उचित मूल्य नपाएको भन्दै भारतबाट अवैधानिक रुपमा खसीबोका भित्रने कार्य रोक्नु पर्ने, सहुलियत मूल्यमा दाना उपलब्ध गराउनुपर्ने, औषधी उपचार लगायतको आवश्यक व्यवस्था गरिदिन माग गर्नुभयो ।
प्रतिनिधिसभाको आजको पहिलो बैठक सरकारका मन्त्री कोही पनि उपस्थित नभएपछि १५ मिनेटका लागि स्थगित भएको थियो ।
संसद् बैठक सुरु हुनासाथ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा सरकारको प्रतिनिधिको रुपमा कुनै पनि मन्त्री उपस्थित नभएकाले बैठक स्थगित गर्न माग गर्नुभएको थियो । त्यसपछि सभामुख घिमिरेले संसद् बैठक स्थगित गरिएको जानकारी गराउनुभयो ।
संसद्को बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य हुन्छ । एकजना पनि मन्त्री उपस्थित नभए संसद् बैठक नबस्ने प्रतिनिधि सभा नियमावलीमा व्यवस्था छ ।
प्रतिक्रिया राख्नुहोस्