थकाली समुदायले तोरन्ल पर्व मनाउँदै
चितवन । चितवनमा थकाली समुदायले बुधबारदेखि तोरन्ल (फागु पूर्णिमा) पर्व मनाउने भएका छन् ।
थकाली सेवा समिति चितवनले भरतपुरमा तीन दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरी तोरन्ल पर्व हर्षोल्लासका साथ मनाउन लागेका हुन् ।

थकाली समुदायले नयाँ वर्षको रुपमा तीन दिनसम्म तोरन्ल पर्व मनाउने गर्दछन् । आफ्नो थातथलो म्याग्दी भए पनि बसाइसराइ गरेर आएका चितवनका थकाली समुदायले सेवा समिति गठन गरेर यहाँ २०४५ सालदेखि सामूहिक रुपमा तोरन्ल पर्व मनाउन थालेका हो ।
यस वर्षको अवसरमा भरतपुर महानगरपालिका वडा नम्बर–८ स्थित बाइस बिघामा रहेका थकाली सेवा समितिको परिसरमा विभिन्न खेलहरूको समेत आयोजना गरिएको समितिकी अध्यक्ष कमला गौचनले जानकारी दिनुभयो । उहाँका अनुसार, यस वर्षमा पुरुषहरू धनुष (तिर) र महिलाहरू नागा भोटे खेल खेल्ने गर्दछन् ।
तोरन्लमा थकाली समुदायले घर सिँगार पटार गरेका छन् । तोरन्ल पर्व फागु पूर्णिमाको दिनलाई बीच पारेर तीन दिनसम्म मनाउने चलन रहेको उहाँले बताउनुभयो ।
यस पर्वको दिन बिहान सबेरै उठेर पूजापाठ गर्ने चलन रहेको थकाली सेवा समिति चितवनका सल्लाहाकार ओमप्रकाश गौचन बताउनुहुन्छ । थकाली समुदायले यस दिन घरमै बनाएको छ्याङ (लोकल रक्सी) समेत खाने प्रचलन रहेको उहाँले बताउनुभयो । थकाली समुदायले फागु पूर्णिमा रङ्गहरू लगाउँदैनथे । आजभोलि भने अन्य समुदायको प्रभावका कारण लगाउन थालिएको उहाँले बताउनुभयो ।
मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ थकाली समुदायको उद्गमस्थल मानिन्छ । तर, मुस्ताङबाट थकाली समुदायहरू बसाइसराई गरेर देशका विभिन्न सहर तथा विदेशमा गएको उहाँले बताउनुभयो । उहाँका अनुसार, थकालीहरू व्यापार तथा उद्योग सञ्चालनका लागि चितवन झरेका हुन् । २०३० सालतिर चितवनमा ८ घरपरिवार झरेका थिए । अहिले उनीहरू बढेर ३९ घर पुगेका छन् ।
यहाँबाट पनि अमेरिका, अस्ट्रेलिया, बेलायत लगायतका देशमा बसाइसराई गर्नेको सङ्ख्या बढ्दो रहेको उहाँले बताउनुभयो । चितवनमा रहेका थकाली समुदायहरू होटल, उद्योग, किराना पसल तथा ठेक्कापट्टामा सक्रिय रहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्