मुद्दाको तारिख बुझ्न रवि लामिछाने रुपन्देहीमा
रुपन्देही । रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले अर्को तारिख आगामी वैशाख २३ लाई दिएको छ । बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा पहिलो पटक तारिख बुझ्न लामिछाने सोमबार बुटवल आउनुभएको थियो ।

अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले सोमबार रवि लामिछानेको तारिख परेको र सोही तारिख बुझ्न अदालतमा आज उपस्थित भएको जानकारी दिनुभयो ।जिल्ला सरकारी वकिल कार्यालयले माघ ६ मा रुपन्देही जिल्ला अदालतमा सुप्रिम सहकारी ठगी र सङ्गठित अपराधमा लामिछानेसहित २२ जनालाई अभियुक्त बनाएर पूरक मुद्दा दर्ता गरेको थियो ।
गीतेन्द्रबाबु (जीबी) राई, लामिछानेसहित ४२ जनाबाट ५५ करोड ५९ लाख ८३ हजार ८ सय ४२ रुपैयाँ र लामिछाने, छविलाल जोशी र लक्ष्मीप्रसाद पौडेलबाट १० करोड ९९ लाख थप बिगो र लामिछानेको व्यक्तिगततर्फ २ करोड बिगो दाबी गर्दै मुद्दा दर्ता भएको थियो ।
जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले माघ १३ गते सहकारी ठगीमा तत्काल प्राप्त प्रमाणका आधारमा ‘प्रतिवादी (लामिछाने)ले कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिब आधार नदेखिएको’ भन्दै पछि ठहरेबमोजिम हुने गरी एक करोड धरौटीमा छोड्ने आदेश गरेको थियो ।
लामिछानेलाई थुनामा नराखी धरौटीमा छाडेको जिल्ला अदालतको आदेशमा चित्त नबुझाएपछि जिल्ला सरकारी वकिल कार्यालय लामिछानेलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पुगेको छ ।
प्रतिक्रिया राख्नुहोस्